सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ हिउँले सेताम्य

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्ने प्रमाण यही गाउँले दिन्छ। योभन्दा माथि मानिसको बसोबास छैन ।

सगरमाथा क्षेत्रमा यतिबेला हिमपात जारी छ। जसका कारण गोरेछाप गाउँसहित आसपास क्षेत्र हिउँले सेताम्य बनेको छ। गोरेछाप गाउँ मात्र गाउँ होइन, हिमालको काखमा रहेको स्वर्गको टुक्रा नै हो । यहाँ पुग्ने हरेक पाहुनाले यही अनुभूत गर्ने गरेको पथप्रदर्शक मदन कँडेलले सुनाए । जति पटक यो गाउँ पुग्छु झन उति राम्रो र सुन्दर लाग्छ यो गाउँ, उनले भने ।

उनले भन्ने जस्तै आज हिउँ परेपछि स्वर्गको परीजस्तै झन सुन्दर देखियो गोरेछापको रूप । नजिकबाट देख्नेहरू हरकोहीको मन गोरेछापले जितिरहेको छ। हिउँले निथ्रुक्क भिजेका बेला सेताम्य भएको हिउँसँग नजिक हुँदै तस्बिर खिचाउँछन् । कोही काखैमा हिउँसँगै लडीबुडी खेल्छन् । वरपर रहेका अजङ्गका हिमाल पनि यो गाउँको सुन्दरतामा लोभिएझैँ देखिन्छ ।

सेताम्य हिमालको आड लिएर वर्षौँदेखि सगरमाथाको रेखदेख गरिरहेको छ । झुप्रुक्क बिचमा वस्ती छ । मान्छेको घर अनि पाहुनाका लागि सानातिना होटल पनि छन्।  मानव र हिमालबिचको अनन्त सम्बन्धलाई यही गाउँले कालान्तरदेखि मजवुद डोरी बनेर अविराम जोडिरहेको छ । कँडेलका अनुसार यहाँभन्दा माथि मान्छे भेटिदैनन्, यहाँ नै हो मान्छे देखिने सगरमाथाको अन्तिम ठाउँ । त्यसैले पनि यो गाउँ आगन्तुकका लागि न्यानो दिने अन्तिम स्थल बनेको छ ।

गर्मी मौसममा घाम लाग्दा धर्तीका हिउँ कम हुन्छन् । पहाडका कायम रहन्छन् । हिउँदभरी हिउँको बिछौना बनेर बसिरहन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असर यहाँका हिमालमा पर्न थालेको छ । दस वर्ष अघिजस्तो बाक्लो हिउँको लुगा अचेल यहाँका हिमालले वर्षभरी लगाउँदैनन् । तातो घामको राप र धूलो धुवाँको काला दागहरू हिमालमा देखिन थालेका छन् । जसले यस गाउँका बासिन्दालाई चिन्ता थपेको छ ।

हिउँ नै नरहे हिमाल कसरी रहला अनि हिमालका हामी कहाँ रहौँला भन्ने पिरलो बढेको छ। टर्किएको अन्ताल्यामा जलवायु परिवर्तनले हिमालमा पारेको असरको बहस उच्च छ । हिमालको एजेण्डा विश्वको हुनुपर्छ भनेर सगरमाथाको देश नेपालले आवाज बुलन्द बनाएको छ । सगरमाथा र यहाँका हिमालले  पनि त्यो आवाज विश्वले सुनिदेवस् भन्ने कामना गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *