फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका विभिन्न सहरमा फैलिएको हिंसा र तोडफोड नियन्त्रण गर्न आवश्यकताअनुसार केही क्षेत्रमा रात्रिकालीन कर्फ्यु लगाउन सकिने बताएका छन्। उनले हिंसा जारी रहे देशमा संकटकालसमेत घोषणा गर्न सकिने चेतावनी दिएका छन्।
बीबीसीका संवाददाताका अनुसार हिंसात्मक प्रदर्शनबाट उत्पन्न संकटबारे पेरिसमा मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्री लेकोर्नुले सुरक्षा व्यवस्थासम्बन्धी विभिन्न घोषणा गरेका हुन्।
उनका अनुसार सर्वसाधारण नागरिक र व्यापारिक प्रतिष्ठानको सुरक्षाका लागि फ्रान्सका केही सहरका स्थानीय प्रमुखहरूलाई निश्चित क्षेत्रमा आंशिक कर्फ्यु लगाउने अधिकार दिइएको छ। यद्यपि, यस्तो प्रतिबन्ध कुन क्षेत्रमा र कसरी लागू गरिने भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। पेरिसको प्लास द ला रिपब्लिक आसपासका क्षेत्रमा निश्चित समयमा मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ।
प्रधानमन्त्री लेकोर्नुले लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले अनुसन्धान तीव्र पारेको जानकारी दिए। उनका अनुसार, लुटपाटमा संलग्न व्यक्तिहरूले आफ्नै गतिविधि रेकर्ड गरेका अनलाइन भिडियोहरूको अनुसन्धान गर्न प्रहरीका २०० अनुसन्धानकर्ता परिचालन गरिएका छन्।
उनले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरी देशमा अशान्ति फैलाउने प्रयास गरेको आरोप लगाउँदै उनले राजनीतिक अतिवामपन्थी समूहहरूको आलोचना गरे।
त्यस्तै फ्रान्सका गृहमन्त्री लरेन नुनेजले देशका विभिन्न सहरमा भएका हिंसात्मक प्रदर्शनका क्रममा अवस्था प्रहरीको नियन्त्रणबाहिरसमेत पुगेको स्वीकार गरेका छन्। प्रशासनले परिस्थितिको गम्भीरता समयमै आकलन गर्न नसकेको उनको भनाइ छ। उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने प्रस्तावसमेत गरेका थिए। तर, राष्ट्रपति इमानुएल म्याक्रोंले उनलाई पदमा निरन्तरता दिन आग्रह गरेका छन्।
राष्ट्रपति म्याक्रोंले गृहमन्त्री नुनेजलाई फ्रान्सका सडकमा सुरक्षा सुनिश्चित गर्न र शनिबार तथा आइतबार भएका हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउने उपाय खोज्न निर्देशन दिएका छन्।
गत शनिबार फ्रान्सभर पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा उत्रिएका थिए। बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि तथा सरकारी शिक्षासहित सार्वजनिक सेवाको गुणस्तर खस्किएको भन्दै उनीहरूले विरोध गरेका थिए। प्रदर्शनको अधिकांश हिस्सा शान्तिपूर्ण रहे पनि पछि कालो कपडा लगाएका र अनुहार छोपेका केही व्यक्तिहरू तोडफोड तथा लुटपाटमा संलग्न भएपछि स्थिति तनावपूर्ण बनेको थियो।
अनुमानअनुसार, करिब एक हजार ५०० पसल तथा व्यावसायिक प्रतिष्ठानमा लुटपाट र तोडफोड भएको छ। दंगा नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेको थियो। केही स्थानमा प्रहरीले लाठी प्रहार गरेको दृश्यसमेत देखिएको थियो।
फ्रान्सको गृह मन्त्रालयका अनुसार, शनिबारको प्रदर्शनका क्रममा करिब एक हजार प्रहरी घाइते भएका थिए। तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनापछि गृहमन्त्री नुनेजमाथि राजनीतिक विपक्षी, केही ट्रेड युनियन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पर्याप्त तयारी नगरेको आरोप लगाएका छन्। पहिले नै घोषणा गरिएका प्रदर्शनलाई नियन्त्रण गर्न पर्याप्त प्रहरी परिचालन नगरिएको उनीहरूको भनाइ छ।
फ्रान्सको संसद्को तल्लो सदनकी अध्यक्ष याएल ब्राउन पिभेले घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्ने इच्छा व्यक्त गरेकी छन्। त्यस्तै राष्ट्रपति म्याक्रोंले आइतबार टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका थिए। उनले हिंसाका दोषीहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्दै नागरिकलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।
तर फ्रान्सेली सञ्चारमाध्यमहरूले उनको सम्बोधनमा ठोस योजना र स्पष्ट कार्यदिशा प्रस्तुत नभएको भन्दै आलोचना गरेका छन्। हिंसा र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउने, सहर तथा साना बस्तीहरूको सुरक्षा कसरी बलियो बनाउने र क्षतिग्रस्त व्यवसायलाई क्षतिपूर्ति कसरी उपलब्ध गराउने भन्ने प्रश्नहरू उठेका छन्। केही सातापछि पुनः ठूलो स्तरका प्रदर्शन गर्ने घोषणा भइसकेकाले आगामी दिनमा सुरक्षा चुनौती थपिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
