१०औं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोलीका खेलाडीबीच १३३७ पदकका लागि भिडन्त

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कर्णाली प्रदेशमा आयोजना हुने १० औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।प्रतियोगिता सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुँदैछ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेशले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिएका हुन् ।

‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रशासनिक काम ९९ प्रतिशतत र भौतिक पूर्वाधारको काम ७० प्रतिशत पूरा भइसकेको छ,’ राखेपका सदस्य–सचिव रामचरित्र मेहताले भने ।

१०औं राष्ट्रिय खेलकुदका लागि गठित कार्य सम्पादन समितिका संयोजकसमेत रहेका मेहताले भौतिक पूर्वाधारको काम पनि दुई–तीन दिनभित्र समाप्त भइसक्ने जानकारी दिए ।

उनले प्रतियोगिताका लागि सरकारबाट ४४ करोड १० लाख रूपैयाँ बजेट प्राप्त भइसकेको र आवश्यक्ता अनुसार अधिकतम ७२ करोड रूपैयाँसम्म खर्च गर्ने स्वीकृत पाएको जानकारी पनि दिए ।

सदस्य–सचिव मेहताले १०औं राष्ट्रिय खेलकुदका लागि अहिले विभिन्न प्रदेशमा छनोट प्रतियोगिता सञ्चालन भइरहेको बताए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगितालाई सफल पार्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

‘प्रतियोगिताको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न पक्षसँग समन्वय र सहकार्य पनि भइरहेको छ । प्रतियोगितालाई भव्य रूपमा सफल पार्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक रंगशाला हस्तान्तरणको काम पनि छिट्टै सम्पन्न हुने उनले बताए । ‘ठेकेदारको तर्फबाट निर्माण कार्य सकिएको छ । अब केही दिनमा हस्तान्तरण हुनेछ,’ उनले भने ।

१०औं राष्ट्रिय खेलकुदमा ३२ खेलका तीन सय ८४ स्पर्धा समावेश गरिनेछ भने प्रतियोगितामा विभिन्न ११ वटा टोलीको सहभागिता रहनेछ ।

सात प्रदेशसँगै तीनवटा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यसका अतिरिक्त, गैर–आवसीय नेपाली संघको टोलीले पनि प्रतियोगितामा भाग लिनेछ । गैर–आवासीय नेपाली संघको टोलीले यसअघि पनि वृहत राष्ट्रिय खेलकुदमा भाग लिएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, कराँते, बास्केटबल, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन र क्रिकेट खेल समावेश गरिएको छ ।

यसैगरी, प्रतियोगितामा टेबलटेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, हकी, जुडो, ई–स्पोटर्स, खो–खो, स्क्वास, रग्बी र सुटिङ खेल पनि समावेश गरिएको छ ।

यसका अतिरिक्त, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन र सेपाकताक्रो खेल पनि प्रतियोगितामा समावेश गरिने छ ।

प्रतियोगिताको उद्घाटन औपचारिक रूपमा मंसिर १६ गते कर्णाली प्रादेशिक रंगशालामा हुने भए पनि १० वटा खेल भने मंसिर ८ गतेदेखि नै शुरू हुने बताइएको छ ।

प्रत्येक टोलीबाट ६ सय ६० जना खेलाडी सहभागी हुनेछन् । त्यसमध्ये तीन सय १४ जना महिला र तीन सय ४६ जना पुरुष खेलाडी रहनेछन् ।

प्रत्येक टोलीबाट ८१ जना प्रशिक्षक र ४१ जना व्यवस्थापकले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकको संख्या दुई ५८ रहनेछ ।

यसैगरी, सात सय ७२ जना राष्ट्रिय निर्णायक, तीन सय ४९ जना स्थानीय सहयोगी र ९६ जना खेल संघका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

आयोजकका अनुसार, सुर्खेतमा २३, दैलेखमा एक, कालिकोटमा एक, सल्यानमा दुई, रुकुम पश्चिममा एक, नेपालगञ्जमा दुई र बर्दियामा दुई खेल खेलाइनेछ ।

१०औं राष्ट्रिय खेलकुदमा कूल एक हजार तीन सय ३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसमध्ये, तीन सय ८४ स्वर्ण, तीन सय ८४ रजत र पाँच सय ६९ कांस्य पदक हुन् ।

यसपटक, राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य गरी तीनवटै पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसअघि स्वर्ण जित्ने खेलाडीले मात्र नगद पुरस्कार पाउँथे ।

१०औं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कांस्य पदक जित्ने खेलाडीले आठ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, समूहगत स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार, रजत पदक जित्नेले १० हजार र कांस्य पदक जित्ने खेलाडीले आठ हजार रूपैयाँ पुरस्कार हात पार्नेछन् ।

२०७९ साल कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो ।

त्यतिबेला, राखेपको ११५औं बोर्ड बैठकले प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने गरि मिति तोकेको थियो ।

तर, कहिले भौतिक पूर्वाधारको अभाव त कहिले राजनीतिक हस्तक्षेपको मारमा परेपछि घरेलु ओलम्पिकका रूपमा परिचित यो प्रतियोगिताको मिति पटक–पटक सारिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *