बँदेलको आक्रमणबाट किशाेरी घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सल्यानको दार्मा गाउँपालिका–२, ओझाबाङमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया किशाेरी घाइते भएकी छन् ।घरनजिकैको सामुदायिक वनमा दाउरा काट्न गएका बेला बिहीबार बिहान जङ्गली बँदेलले आक्रमण गर्दा स्थानीय बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ । उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । उनका अनुसार घाइतेको अवस्था मध्यम छ ।

पछिल्लो समय दार्मा गाउँपालिका–२ का विभिन्न सामुदायिक वनमा जङ्गली वन्यजन्तुको चहलपहल बढेको स्थानीयले बताएका छन् । सामुदायिक वन संरक्षणसँगै वन बाक्लिँदै गएपछि जङ्गली जनावर देखिन थालेको स्थानीयको भनाइ छ ।

स्थानीय लिलाधर उपाध्यायका अनुसार वन क्षेत्रमा जङ्गली वन्यजन्तुको चहलपहल बढ्दै जाँदा घाँसदाउरा गर्न जाने स्थानीय जोखिममा पर्ने गरेका छन् । बँदेललगायत जङ्गली जनावरले खेतबारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *