आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीकाको दिन जनजीवन प्रभावित बनेको हाे ।
हिमाली भेगमा कतै भारी र कतै मध्यम हिमपात हुँदा जनजीवन प्रभावित बन्न पुग्याे । दिउँसो करिब साढे १२ बजेदेखि बदली सुरू भएकोमा करिब पौने २ बजेदेखि काठमाडौँको पहाडी भेगहुँदै वर्षा सुरू भएको थियो।
पश्चिमी वायु र माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावले असिना पानीसहितको वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षासँगै ठुलो असिनापानी वर्षिदा त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य हवाई उडान समेत ५५ मिनेट अवरुद्ध हुन पुगेको थियो । धावनमार्गको केही भागमा असिना थुप्रिएपछि केही विमान भारत डाइभर्ट भएका थिए । केही समय पछि धावनमार्ग सफा गरेर उडान सुचारू गरिएकाे थियाे ।
मौसमविद मनोज भट्टका अनुसार आज दिउँसोदेखि साँझसम्म देशको विभिन्न भूभागमा वर्षा भएको छ । उनका अनुसार काठमाडौं उपत्यकासँगै धादिङ, गोरखा, लमजुङ, इलाम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, स्याङ्जा, कास्की, म्यादी, रोल्पा लगायत जिल्लामा वर्षा भएको हाे । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षासँगै असिना परेको थियाे ।
उच्च हिमाली भेगमा मध्यम हिमपात भइरहेको छ । मधेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि वर्षा भएको थियाे । अहिले यतिखेर इलामसम्म वर्षा पुगेको छ । सुदुरपशिचमको जिल्लाहरूमा पनि वर्षा सुरू भएको बताइएको छ। काठमाडौँमा दिउँसो तीन घण्टामा ३१ मिलिमिटर वर्षा भएको जनाइएको छ।
आज रातिदेखि मौसममा सुधार हुनेछ । तथापि देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ। गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा भाेली बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। वर्षा र हिमपातले केही दिनका लागि देशव्यापी रूपमा चिसो बढाउने भएको छ । चिसोसँगै रूघाखोकी र स्वास्थ्यजन्य समस्या बढ्न सक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेकाे छ ।
