विश्व मधुमेह दिवसः युवा अवस्थामै मधुमेहकाे जाेखीम बढ्दै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

केही वर्षअघिसम्म ५० वर्ष उमेर कटेपछि बढी देखिने मधुमेह पछिल्लो समय युवा अवस्थामै देखिन थालेको छ । वीर अस्पतालको डायबिटिज एन्ड एन्डोक्राइन विभागमा उपचारका लागि आउने बिरामीमध्ये ३० देखि ३५ वर्ष उमेर समूहका करिब २० प्रतिशत रहेको तथ्यले युवामा समेत मधुमेहको जोखिम बढ्दै गएको देखाउँछ ।

वीर अस्पतालमा मात्र होइन, अन्य स्वास्थ्य संस्थामा समेत युवा अवस्थाका मधुमेहका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपन, तनाव र बदलिँदो जीवनशैलीलाई यसको प्रमुख कारण मानिएको छ ।

वीर अस्पतालकी वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले दैनिक करिब ४० जना मधुमेह तथा हर्मोनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण हुने बताए  । तीमध्ये अधिकांश ४५ वर्षमाथिका भए पनि ३० वर्षदेखि नै मधुमेह देखिने गरेको छ ।

उनका अनुसार मधुमेह भएका करिब ५० प्रतिशत व्यक्तिलाई आफूमा रोग रहेको जानकारी हुँदैन । शरीरमा रोगको असर बढ्दै गएपछि मात्र उनीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । बारम्बार पिसाब लाग्ने, अत्यधिक तिर्खा लाग्ने, मुख सुक्ने, शरीरको तौल घट्ने र घाउ निको हुन ढिलाइ हुने यसका सामान्य लक्षण हुन् ।

डा. मल्लका अनुसार पहिले शहरका वृद्धवृद्धामा बढी देखिने मधुमेह अहिले गाउँका युवा र बालबालिकामा समेत देखिन थालेको छ ।  मोबाइल, कम्प्युटरको अत्यधिक प्रयोग, खेलकुद तथा शारीरिक गतिविधिमा कमी र अस्वस्थ खानपानले बालबालिकामा मोटोपन बढाउँदै मधुमेहको जोखिम निम्त्याइरहेको उनि बताउछन् ।

वैदेशिक रोजगारीबाट फर्किएका युवामा समेत मधुमेह देखिने गरेको डा. मल्लको भनाइ छ । उनले पारिवारिक बिछोड, मानसिक तनाव, अनियमित खानपान र शारीरिक व्यायामको अभावले उनीहरूको स्वास्थ्यमा असर पारिरहेको उल्लेख गरे  ।

मधुमेह रोग विशेषज्ञ तथा फिजिसियन डा. सुनील ढुङ्गेलका अनुसार मधुमेहलाई सामान्य स्वास्थ्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन । सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिन भएकाले जोखिममा रहेका व्यक्तिले नियमित रूपमा रगतमा चिनीको मात्रा परीक्षण गराउनु पर्छ ।

उनले खानपानमा सुधार, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण र तनाव व्यवस्थापनले मधुमेहको जोखिम घटाउन तथा रोगलाई नियन्त्रणमा राख्न सहयोग पुग्ने बताउदै  भक्तपुर अस्पतालमा दैनिक एक सय जनासम्म बिरामी हेरेको भन्दै ४० प्रतिशत मधुमेह भएका बिरामी आउने गरेको जानकारी दिए  ।

उनले मधुमेह नियन्त्रणका लागि औषधीसँगै खानपान, नियमित व्यायाम र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउदै  दैनिक हिँडडुल, योग तथा शारीरिक अभ्यासलाई जीवनशैलीको नियमित बनाउनुपर्ने उनको धारणा छ । गुलियो पेयपदार्थ, प्रशोधित खानेकुरा र अत्यधिक चिनीको सेवन घटाउनु पनि उत्तिकै आवश्यक भन्दै उनले मधुमेहले आँखाको पर्दा (रेटिना), मिर्गौला, मुटु र स्नायुमा गम्भीर असर पुर्‍याउन सक्नेतर्फ सचेत गराए  ।

डा. मल्लका अनुसार टाइप १ र टाइप २ गरी मधुमेह मुख्यतः दुई प्रकारका हुन्छन् । टाइप १ कम उमेरमै देखिन सक्छ भने टाइप २ बढी उमेरमा देखिए पनि अहिले युवामा समेत बढिरहेको छ । उनले जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट टाइप २ मधुमेहलाई नियन्त्रणमा राख्न सकिने जानकारि गराए ।

मधुमेह भएका व्यक्तिले सिजन अनुसारका फलफूल सीमित मात्रामा खान सक्ने डा. मल्लको सुझाव छ । उनले लक्षण नदेखिए पनि जोखिममा रहेका व्यक्तिले समयमै रगतमा चिनीको मात्रा परीक्षण गराउनुपर्ने सल्लाह दिए  ।

यसैबिच आज शनिबार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि विश्व मधुमेह दिवस मनाइँदै छ । नेपालमा विभिन्न जनचेतनमूलक कार्यक्रमका साथ हरेक वर्ष विश्व मधुमेह दिवस मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *