देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, कञ्चनबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।यसअघि बुधबार राति पनि प्रहरीले अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो ।
