अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटर निर्वाचित भएका छन् । उनी रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्दै अमेरिकी गृहयुद्धपछिको पुनर्निर्माणकालयता राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत व्यक्ति बनेका हुन् ।
लामो समयसम्म मतगणना चलेपछि बुधबार सार्वजनिक भएको परिणामले मिसिसिपीको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको छ । राज्यको सबैभन्दा ठूलो जनसांख्यिकीय समूहका रूपमा रहेका अश्वेत नागरिकको उल्लेख्य उपस्थिति भए पनि मिसिसिपीमा पुस्तौँदेखि श्वेत रूढिवादीहरूको राजनीतिक वर्चस्व रहँदै आएको थियो ।
मिसिसिपीले पछिल्लोपटक सन् १९४७ मा डेमोक्रेटिक पार्टीका नयाँ सिनेटर निर्वाचित गरेको थियो । तर, त्यतिबेला निर्वाचित सिनेटर कट्टर रंगभेद समर्थक थिए । त्यसको ७९ वर्षपछि डेमोक्रेटिक पार्टीले राज्यबाट पुनः सिनेटर निर्वाचित गराएको हो ।
४३ वर्षीय कोलोम स्थानीय अभियोजक हुन् । उनले राज्यको ठूलो अश्वेत जनसंख्या, अर्थतन्त्रप्रतिको असन्तुष्टि र दोस्रो पूर्ण कार्यकालका लागि चुनावी मैदानमा रहेकी हाइड–स्मिथका कमजोरीलाई आफ्नो पक्षमा उपयोग गरे ।
एसोसिएटेड प्रेस (एपी)का अनुसार स्थानीय अधिकारीहरूले अनुपस्थित मतदाताका मतपत्र र मिसिसिपीमा एफिडेभिट मतपत्र भनिने अस्थायी मतपत्रको गणना सम्पन्न गरेपछि कोलोमलाई विजयी घोषणा गरेका थिए ।
कोलोमको जीतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीलाई मध्यावधि निर्वाचनमा लागेको धक्कालाई थप बलियो बनाएको छ ।
रिपब्लिकन पार्टीको नियन्त्रण रहेका विभिन्न राज्यमा समेत पराजय भएपछि अमेरिकी दक्षिणी राज्यहरू डेमोक्रेटिक पार्टीको राजनीतिक भविष्यका लागि महत्त्वपूर्ण बन्न सक्ने तर्कलाई यो परिणामले थप बल पुर्याएको छ ।
टुगालु कलेजमा आयोजीत विजय उत्सवमा सयौँ समर्थकलाई सम्बोधन गर्दै कोलोमले भने, ‘मैले गरेको एउटै काम भनेको यस्तो रातको कल्पना गर्ने साहस गर्नु थियो । मलाई मिसिसिपीमाथि विश्वास गर्ने साहस थियो । मिसिसिपी पनि महत्त्वपूर्ण छ भनेर देशलाई देखाउन सक्छौँ भन्ने बुझ्ने साहस थियो ।’
सबै नागरिकको प्रतिनिधित्व गर्ने कोलोमको प्रतिबद्धता
चुनावी अभियानको अन्तिम चरणमा कोलोमले मिसिसिपीका नागरिकले उनीहरूको कुरा सुन्ने र समस्या बुझ्ने सिनेटर पाउनुपर्ने बताएका थिए ।
‘उनीहरू वास्तवमै यस्तो सिनेटर पाउन योग्य छन्, जसले उनीहरूको कुरा सुनोस्, उनीहरूका विचारको कदर गरोस् र उनीहरूले भोगिरहेका समस्याप्रति चासो राखोस्,’ उनले भनेका थिए ।
मिसिसिपीको राजनीति र समाजमा लामो समयदेखि जातीय विभाजनको प्रभाव रहँदै आएको छ । यस्तो अवस्थामा आफूले राज्यका सबै नागरिकको प्रतिनिधित्व गर्ने कोलोमले चुनावी अभियानदेखि नै बताउँदै आएका थिए ।विजयपछि पनि उनले आफ्नो प्रतिबद्धता दोहोर्याए ।
‘तपाईंहरू प्रत्येकप्रति मेरो प्रतिबद्धता छ । म तपाईंहरूका छोराछोरीलाई आफ्ना छोराछोरीलाई जस्तो व्यवहार गर्न चाहन्छु, त्यस्तै व्यवहार गर्नेछु । तपाईंहरूका आमाबुबालाई आफ्ना आमाबुबालाई जस्तै व्यवहार गर्नेछु । तपाईंहरूको भविष्यलाई आफ्नै भविष्यलाई जस्तै व्यवहार गर्नेछु,’ उनले भने ।
उनले मिसिसिपीका प्रत्येक नागरिकको जीवनस्तर सुधार्न काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।६७ वर्षीया हाइड–स्मिथले बुधबार दिउँसो कोलोमलाई फोन गरेर हार स्वीकार गरेकी थिइन् । त्यसलगत्तै उनले अनलाइनमार्फत वक्तव्य जारी गर्दै मतदाताको निर्णय सम्मान गर्ने बताइन् ।
‘यो हामीले चाहेको वा अपेक्षा गरेको परिणाम होइन । तर, मिसिसिपीका मतदाताको निर्णयलाई म सम्मान गर्छु । स्कट कोलोमलाई बधाई दिन चाहन्छु र हाम्रो महान् राज्यको प्रतिनिधित्व गर्ने ठूलो जिम्मेवारी सम्हाल्दा सफलताको शुभकामना दिन्छु,’ उनले भनिन् ।
डेमोक्रेटिक नेतादेखि अधिकारकर्मीसम्मको बधाई
कोलोमको जीतपछि राष्ट्रिय स्तरका डेमोक्रेटिक नेताहरू, अधिकारकर्मी र समर्थकहरूले खुसी व्यक्त गरेका छन् ।
न्युयोर्कका डेमोक्रेटिक सिनेट नेता चक सुमरले सामाजिक सञ्जालमा कोलोमको चुनावी अभियानको प्रशंसा गर्दै लेखेका छन्, ‘स्कटले आफ्नो जीवनकै उत्कृष्ट चुनावी अभियान सञ्चालन गरे र अमेरिकी दक्षिणमा डेमोक्रेटिक पार्टीका लागि सम्भावनाको नयाँ कल्पना गरे ।’
पूर्वराष्ट्रपति बिल क्लिन्टनले पनि कोलोमलाई बधाई दिएका छन् । निर्वाचन हुनुभन्दा केही दिनअघि उनी कोलोमको चुनावी अभियानमा सहभागी भएका थिए ।
क्लिन्टनले कोलोमको जीतबारे लेखेका छन्, ‘तपाईंले आफ्नो राज्यका जनताको सम्भावनामा विश्वास गर्नुभयो, त्यसैले जीत्नुभयो । उनीहरूले पनि तपाईंमाथि उत्तिकै विश्वास गरे ।’
कोलोमको विजय उत्सवमा सहभागी भेरा फिन्लेले आफ्नो परिवारको इतिहास स्मरण गर्दै खुसी व्यक्त गरिन् ।
‘म यहाँ मेरा आमाबुबा र हजुरबा–हजुरआमाको सम्मानमा खुसी मनाउन आएकी हुँ । मेरा दुवै आमाबुबाले कपास टिप्नुभएको थियो । मेरी जिजुआमालाई भर्जिनियाबाट यहाँ दासका रूपमा बेचेर ल्याइएको थियो । त्यसैले इतिहासको यो मोडमा उभिन पाउँदा म निकै उत्साहित छु,’ उनले भनिन् ।
नेसनल एसोसिएसन फर द एड्भान्समेन्ट अफ कलर्ड पिपल (एनएएसीपी) का अध्यक्ष डेरिक जोन्सनले पनि वक्तव्य जारी गर्दै मिसिसिपीका मतदाताले इतिहास रचेको बताएका छन् ।
उनका अनुसार विशेषगरी अश्वेत मतदाताले डर, निराशा र आफूहरूलाई उपेक्षा गर्ने प्रयासको सामना गर्दै मतदान अधिकारका लागि इतिहास रचेका हुन् । मतदान अधिकारका लागि अमेरिकाकै कठिन संघर्ष भएका राज्यहरूमध्ये मिसिसिपी पनि एक हो ।
ट्रम्पको चुनावी सभामै पुगेका थिए कोलोम
कोलोमको चुनावी प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिक वृत्तको ध्यान ढिलो गरी तानेको थियो ।
जर्जियाका राफेल वार्नक र मेरिल्यान्डकी एन्जेला अल्सोब्रुक्ससहितका अश्वेत सिनेटरहरूले शुरूमा नै यो निर्वाचन जीत्न सकिने भन्दै दाता र पार्टी नेताहरूको ध्यानाकर्षण गराएका थिए । तर, त्यसको केही महिनापछि मात्रै चुनावले राष्ट्रिय चर्चा र आर्थिक सहयोग पाउन थालेको थियो ।
राष्ट्रपति रोनाल्ड रेगनका लागि काम गरेका एक पूर्वरिपब्लिकनका छोरा कोलोमले यस वर्ष निकै चर्चित चुनावी विज्ञापनमध्ये एक तयार गरेका थिए ।
हाइड–स्मिथले गाईको मासुको मूल्य अत्यधिक बढेको विषयमा उपभोक्ताले अन्य प्रकारका प्रोटिन रोज्न सक्ने प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि कोलोमले ३० सेकेन्डको विज्ञापन बनाए । त्यसमा आश्चर्यचकित मतदाताहरूले ‘बरु अर्को सिनेटर रोज्छौँ’ भनेको देखाइएको थियो ।
अक्टोबरको अन्त्यतिर ट्रम्प हाइड–स्मिथको चुनावी सभामा सहभागी हुन मिसिसिपीको कोरिन्थ पुगेका थिए । त्यतिबेला कोलोमले सभामा प्रवेश गर्न प्रतीक्षारत ट्रम्प समर्थकहरूको लाइनमा पुगेर उनीहरूसँग कुराकानी गरेका थिए । उनले आफ्नो परिचय दिँदै उनीहरूका समस्या र चासोबारे सोधेका थिए ।
पछि ट्रम्पले हाइड–स्मिथलाई मञ्चमा बोलाउँदा उनले ६ सेकेन्डमा नौ शब्द मात्रै बोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘के उनी हाम्रो जीवनकालकै सर्वश्रेष्ठ राष्ट्रपति होइनन् ?’
कोलोमले ट्रम्पको व्यक्तिगत आलोचना नगरी उनका नीतिहरूको आलोचना गर्दै चुनावी अभियान चलाएका थिए । विशेषगरी इरान युद्धका कारण बढेको पेट्रोलियम पदार्थको मूल्य र मिसिसिपीका किसानलाई समस्यामा पारेका आयात शुल्क उनका आलोचनाका मुख्य विषय थिए ।
उनले ट्रम्प वा उनलाई मतदान गर्ने नागरिकलाई व्यक्तिगत रूपमा निशाना बनाउनुभन्दा हाइड–स्मिथलाई जिम्मेवार ठहर्याउँदै आएका थिए ।
वासिङ्टनमा हाइड–स्मिथको प्रभावहीन उपस्थितिलाई चुनावी मुद्दा बनाएका थिए । लामो समयदेखि शक्तिशाली सिनेटरहरू पाउँदै आएको मिसिसिपीमा उनको यो आलोचना प्रभावकारी बनेको थियो ।
हाइड–स्मिथले रोकिदिएकी थिइन् कोलोमको न्यायाधीश नियुक्ति
कोलोमको जीतसँगै अर्को रोचक राजनीतिक संयोग पनि जोडिएको छ । सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले कोलोमलाई अमेरिकी जिल्ला अदालतको न्यायाधीशमा मनोनयन गरेका थिए । मिसिसिपीका वरिष्ठ रिपब्लिकन सिनेटर रोजर विकर र पूर्वगभर्नर तथा पूर्वराष्ट्रिय रिपब्लिकन अध्यक्ष हेली बार्बरले समेत उनको मनोनयनलाई समर्थन गरेका थिए ।
तर, हाइड–स्मिथले कोलोमको नियुक्ति प्रक्रिया रोकिदिएकी थिइन् । यद्यपि, कोलोमले आफ्नो चुनावी अभियान हाइड–स्मिथसँग बदला लिनका लागि नभएको बताएका थिए ।
चुनावी अभियानको अन्तिम चरणमा कोलोमले सार्वजनिक गरेको विज्ञापनमा उनी नागरिक अधिकार आन्दोलनका नेता मेडगर एभर्सको ज्याक्सनस्थित घरमा देखिएका थिए ।
सन् १९६३ मा आफ्नै घरको प्रवेशमार्गमा एक श्वेत सर्वोच्चतावादीको गोली प्रहारबाट एभर्सको हत्या भएको थियो ।
कोलोमले विज्ञापनमा दोस्रो विश्वयुद्धका क्रममा नर्मन्डीमा एभर्सले गरेको सैन्य सेवा, मिसिसिपीमा मतदाता दर्ताका लागि उनले चलाएको अभियान, उनको हत्या र हत्यामा संलग्न व्यक्तिलाई दोषी ठहर गर्न लागेको तीन दशक लामो समयबारे बताएका थिए ।
‘मिसिसिपीका नागरिकलाई मतदान गर्न सहयोग गरेको कारण उनको हत्या गरिएको थियो,’ कोलोमले भनेका थिए, ‘मंगलबार आफ्नो मताधिकार प्रयोग गर्नुहोस् र त्यो अधिकारका लागि ज्यान गुमाउने सबैको सम्मान गर्नुहोस् ।’
बुधबार राति विजय सम्बोधनका क्रममा उनले आफ्नो चुनावी नतिजा भेटरन्स डे (सैनिक दिवस) कै दिन सार्वजनिक हुनु उपयुक्त भएको बताए । उनले फेरि एभर्सको योगदानको स्मरण गरे ।
‘उनले आफ्नो देशको सेवा गरे, मिसिसिपी फर्किए, तर उनलाई मतदान गर्न दिइएन । तैपनि मिसिसिपीले प्रगति गर्न सक्छ भन्ने विश्वास उनीसँग थियो,’ कोलोमले भने ।
रिपब्लिकन वर्चस्वका बाबजुद डेमोक्रेटिक पार्टीले बनाएको आधार
अश्वेत जनसंख्याको ठूलो हिस्सा डेमोक्रेटिक पार्टीसँग नजिक रहेकाले मिसिसिपीमा वर्षौंदेखि हुने आमनिर्वाचनहरू छिमेकी दक्षिणी राज्यहरूको तुलनामा बढी प्रतिस्पर्धात्मक रहँदै आएका छन् ।
ट्रम्पले आफ्ना तीनवटै राष्ट्रपति निर्वाचनमा दोहोरो अंकको मतान्तरले मिसिसिपी जितेका थिए । तर, सन् २०२३ मा रिपब्लिकन गभर्नर टेट रिभ्सले पुनः निर्वाचन जीत्दा उनको मतान्तर जम्मा ३ प्रतिशत अंक थियो ।
सन् २०२६ भरि कोलोम तथा अन्य अश्वेत डेमोक्रेटिक नेता र चुनावी रणनीतिकारहरूले अश्वेत मतदाताको उल्लेख्य सहभागिता, रिपब्लिकन मतदातामा बढ्दो असन्तुष्टि र डेमोक्रेटिक पार्टीले सामान्यतया पाउने श्वेत मतको हिस्सामा वृद्धि भएमा चुनावी मतान्तर घटाउन सकिने बताउँदै आएका थिए ।
मतपरिणामले मिसिसिपी डेल्टा क्षेत्रमा उल्लेख्य मतदान भएको देखाएको थियो । उक्त क्षेत्रमा बहुसंख्यक अश्वेत जनसंख्या भएका काउन्टीहरूको ठूलो हिस्सा छ ।
सन् २०२४ को निर्वाचनसँग तुलना गर्दा राज्यका झन्डै सबै क्षेत्रमा डेमोक्रेटिक पार्टीको पक्षमा मत बढेको देखिएको थियो । सन् २०२४ मा ट्रम्पले मिसिसिपीमा झन्डै २३ प्रतिशत अंकको मतान्तरले जितेका थिए ।
हाइड–स्मिथ सन् २०१८ मा सिनेटमा नियुक्त भएकी थिइन् । त्यसै वर्ष भएको विशेष निर्वाचनको दोस्रो चरण र सन् २०२० मा पूर्ण कार्यकालका लागि भएको निर्वाचन दुवै उनले जीतेकी थिइन् । दुवै पटक उनले डेमोक्रेटिक उम्मेदवार माइक एस्पीलाई पराजित गरेकी थिइन् ।
एस्पी पूर्वअमेरिकी कृषि सचिव हुन् । उनी पुनर्निर्माणकालपछि मिसिसिपीबाट निर्वाचित पहिलो अश्वेत कंग्रेस सदस्यसमेत थिए ।
लामो समयसम्म मतगणना जारी रहँदा कोलोमले आफ्नो उम्मेदवारीको ऐतिहासिक महत्त्व स्वीकार गरेका थिए । तर, आफूले जीत्नुभन्दा पनि यसले आगामी पुस्ताका लागि के अर्थ राख्छ भन्ने विषयलाई बढी महत्त्व दिएको बताएका थिए ।
‘अमेरिकी सिनेटरका रूपमा मेरो काम यति राम्रो हुनु होस् कि अर्को पटक कुनै युवा अश्वेत केटा वा केटीसँग मेहनत गर्ने बानी, दृष्टिकोण र मूल्यहरू छन् र उनीहरू अमेरिकी सिनेटर बन्न चाहन्छन् भने मैले गरेका कुनै पनि कामका कारण उनीहरूलाई त्यो अवसर पाउनु हुँदैन भनेर कसैले नभनोस्,’ उनले भने ।
एपीको सहयोगमा ।
