हेटौँडा–काठमाडौँ छोटो दुरीको सडक बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । बंगालको खाडीमा विकसित चक्रवात  ‘‘अर्णव’ को प्रभावका कारण कात्तिक १२ गतेदेखि मकवानपुरमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार साँझसम्म जलाशयको पानीको सतह एक हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रबन्धक प्रल्हाद राउतका अनुसार जलाशयको पूर्ण क्षमता एक हजार ५३० मिटर रहेकामा शनिबार दिउँसो सवा ४ बजेसम्म पानीको सतह एक हजार ५२८.४८ मिटर मापन गरिएको छ । पानीको सतह एक हजार ५२८.५० मिटर पुगेपछि सतर्कताका लागि पहिलो साइरन बजाइने उनले बताए ।

जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा र पानीको सतह सन्तुलित राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ ।

बाँधका ढोका खोल्नुपरे सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ । त्यसैले प्रशासनले नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदीकिनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तोकिएको समयमा उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न अनुरोध गरेका छन् । प्रशासनले बाढी तथा पहिरोको जोखिमबाट बच्न जारी गरिएका सूचनाको पालना गर्नसमेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *