भारतमा सन् २०२७ को जनगणना आगामी जनवरी २५ देखि सुरु हुने भएको छ। अधिकांश राज्य तथा केन्द्रशासित प्रदेशमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनसंख्या गणना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतका रजिस्ट्रार जनरल तथा जनगणना आयुक्त मृत्युन्जय कुमार नारायणले शुक्रबार जारी गरेको सूचनाअनुसार जनगणनाको आधार मिति सन् २०२७ मार्च १ को मध्यरातलाई तोकिएको छ।
यद्यपि, विधानसभा निर्वाचन हुन लागेका केही राज्य तथा हिमपात प्रभावित क्षेत्रमा निर्धारित समयमा जनगणना नहुने भएको छ। मणिपुर, गोवा, उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड र लद्दाखमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनगणना नगरिने सूचनामा उल्लेख छ।
त्यस्तै, हिमाचल प्रदेश र जम्मु–कश्मीरका हिमपात प्रभावित क्षेत्रमा पनि तत्काल जनगणना नहुने जनाइएको छ। मणिपुरमा भने अर्को आदेश नभएसम्म प्रक्रिया स्थगित गरिएको छ।
जनगणनाअघि जनवरी १० देखि २४ सम्म नागरिकलाई आफ्नै विवरण अनलाइनमार्फत दर्ता गर्ने सुविधा दिइनेछ। त्यसपछि घरघरमा पुगेर जनसंख्या गणना गरिनेछ।
भारतमा जनगणना दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा घर तथा आवासको विवरण संकलन गरिनेछ भने दोस्रो चरणमा जनसंख्या गणना हुनेछ।
सन् २०११ मा भारतको पछिल्लो जनगणना भएको थियो। त्यसबेला देशको कुल जनसंख्या १२१ करोड थियो। कोरोना महामारीका कारण सन् २०२१ मा हुनुपर्ने जनगणना स्थगित भएको थियो।
यसपटकको जनगणनाका लागि भारत सरकारले ११ हजार ७१८ करोड भारतीय रुपैयाँ बजेट स्वीकृत गरेको छ। यो भारतको आठौँ जनगणना हुनेछ।
