अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । करिब २.१ अर्ब अमेरिकी डलर मूल्यका ती मिसाइल युक्रेनका युरोपेली सहयोगी र क्यानडाले उपलब्ध गराउने रकमबाट खरिद गरिनेछ ।
रुसको बढ्दो हवाई आक्रमण रोक्न युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल आपूर्तिका लागि आग्रह गर्दै आएको थियो । विशेषगरी रुसी ब्यालिस्टिक मिसाइल खसाल्न यी मिसाइल महत्वपूर्ण मानिन्छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यस बिक्रीमा अमेरिकाको सरकारी कोष प्रयोग हुने छैन । जर्मनी, क्यानडा र नर्वेले आर्थिक सहयोग गर्नेछन् भने अमेरिकी कम्पनी लकहिड मार्टिनले मिसाइल निर्माण गर्नेछ ।
यद्यपि, नयाँ मिसाइल उत्पादन गरेर आपूर्ति गर्नुपर्ने भएकाले युक्रेनले तत्कालै ती मिसाइल प्राप्त गर्ने सम्भावना कम रहेको बताइएको छ । अमेरिकाले वार्षिक करिब ६०० वटा प्याट्रियट मिसाइल उत्पादन गर्दै आएको छ ।
