सिरहा-धनुषा जोड्ने हुलाकी मार्गमा पर्ने कमला पुल सञ्चालनमा ल्याउन पुल मुनिबाट धार परिवर्तन गर्ने कार्य सम्पन्न भएको हुलाकी सडक निर्देशनालय जनकपुरले जनाएको छ । विगत १५ वर्षदेखि रुघ्न रहेको कमला पुल सञ्चालनमा आउने भएपछि स्थानीयहरु खुसी देखिएका छन् ।
लगातार एक सातादेखि धार परिवर्तन गराउन प्रयासरत रहेपनि पानीको चाप बढेको कारण बाँध बाँध्न चुनौती थपिएको निर्देशनालय प्रमुख कृष्ण कुमार महतोले बताए ।उनका अनुसार हिजो शुक्रबार राति अथक प्रयासपछि धार परिवर्तन गराउन र बाध बाँध्न सफल भएको हो ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालद्वारा सो पुलको उद्घाटन गरिने मन्त्री लम्सालका सल्लाहकार डा. दिनेश रामले जानकारी दिए । उनले भने ” मन्त्री लम्सालले हिजो राति दुई बजे समेत कामको अवस्था के छ ? भन्ने जानकारी लिएका थिए । बाँध बाँध्न र धार परिवर्तन गराउन सफल भएको सुनाएपछि मन्त्री लम्साल पनि खुसी भएका हुन् ।”
सिरहा नगरपालिका ६ बसबिटाका ६० वर्षीय डोमी यादवले कमला किनारमा बाँध बाँधेर पुल सञ्चालनमा आएको देखेर अत्यन्तै खुसी भएको सुनाउदै भने “१४ वर्षमा राम भगवान वनबासबाट फर्केका थिए । १५ वर्षमा रुघ्न बनेको कमला पुल सञ्चालनमा आयो । विगतका सरकाले गर्न नसकेको काम वर्तमान सरकारले गरेर देखायो । बाँध बाँधेपछि कमला नदीले कटान गरेको मेरो ६ विघा खेतियोग्य जग्गा फर्किने आशा पनि जाग्यो ।”
मधेसको जीवनरेखा मानिएको हुलाकी मार्गमा कमला पुल सञ्चालनमा नआउँदा सिरहाबाट २९ किलोमिटर रहेको मधेसको राजधानी जनकपुर पुग्न ८७ किलोमिटर घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएपछि खुसी नहुने कुरै भएन अर्का स्थानीय दुखी यादवले सुनाए ।
पप्पु लुम्बिनी विल्डर्सले २०७८ साल असार १७ गते उद्घाटन नहुँदै कमलामाईमा आएको ठुलो बाढीले पूर्व र पश्चिमको पाया भासिएपछि पुल प्रयोगमा आउन सकेको थिएन । विगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल , पूर्व विभागीय मन्त्रीहरु मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको ओइरो लागेपनि पुल सञ्चालनको कार्य अघि बढेको थिएन ।
जेनजी आन्दोलनपछि कमला पुल सञ्चालनमा ल्याउन तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्ग र पूर्व खेलकुदमन्त्री बब्लु गुप्ताले पुल सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरेका थिए । उनिहरुले गरेका प्रतिबद्धतालाई वर्तमान भौतिक पुर्वाधार मन्त्री सुनिल लम्सालले २५ करोड बजेट विनियोजन गरेर पुरा गर्न लागेकाे सिरहा –३ का सांसद शम्भु यादवले बताए ।
हुलाकी मार्गमा अधुरो रहेको सहजा पुल र गाउन पुल समेत पुषमा पुरा भइसक्ने हुलाकी मार्ग निर्देशनालयका प्रमुख महतोले बताए ।
