नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्व रहेको आध्यात्मिक गुरु लेखनाथ शास्त्रीले बताए ।
उनका अनुसार विजयादशमी एक पञ्चाङ्गको चाड मात्र होइन, मानव शरीर र चेतनाको वैज्ञानिक परिवर्तनको कालखण्ड हो, जहाँ व्यक्तिले आफ्नो ऊर्जालाई रूपान्तरण गर्नसक्छ। दुर्गापूजा र नवरात्रिको महत्व कुनै बाहिरी देवताको पूजासँग मात्र होइन, शक्तिसँग जोडिएको छ।
नवरात्रिमा ईश्वरलाई पिताका रुपमा नभइ माता, दुर्गा वा अम्बाका रूपमा हेरिन्छ । नवरात्रिका नौ दिन शरीर र ऊर्जाको रूपान्तरणका लागि अत्यन्त महत्वपूर्ण छन् । यो अवधिमा ध्यान गर्नाले आन्तरिक ऊर्जाको प्रवाह राम्रो हुन्छ।धार्मिक विधि–विधानको वास्तविक उद्देश्य शुद्ध हुँदै गहन मौन, उत्सव र आनन्दसम्म पुग्नु हो । दश दिनको यो पर्व जीवनको ऊर्जालाई नकारात्मकताबाट निकालेर आनन्द र उत्सवमा बदल्ने अवसर हो।
‘मानिसभित्र विद्यमान ऊर्जा बग्न रोकेर भित्र मोडिएमा ‘देवी शक्ति’ बन्छ । नवरात्रिका नौ दिनमा उपवास, संयम र ब्रह्मचर्यको विधानको प्रमुख उद्देश्य शरीर र मनको छरिएको ऊर्जा बचाउनु हो। ऊर्जाको ह्रास रोकिएपछि मानिसभित्र एक नयाँ उत्साहको सञ्चार हुन्छ’ उनले भने ।
रात्रिको महत्व
दसैंको नौ दिनलाई ‘नवरात्रि’ भनियो ‘नवदिवस’ किन भनिएन ? यस प्रश्नको जवाफमा उनले भने , “दिउँसोको समय समाज र कामकाजको लागि हो । रात आध्यात्मिक साधनाको लागि हो । नवरात्रिमा ‘दिन’ को सट्टा रात्रिलाई विशेष महत्व दिइन्छ। रातमा एकान्त, शीतलता र एकाग्रताका कारण ध्यानका लागि अनुकूल वातावरण हुन्छ । राति आफ्नो अन्तर्मनसँग सजिलै जोडिन सकिन्छ।”
सात्विकतातर्फको यात्रा
नवरात्रिमा शक्तिको विभिन्न रुप नौ देवीको चर्चा गरिन्छ । ती चेतनाका विभिन्न रुप भएको उनले बताए । उनका अनुसार मानिसको जीवन आलस्य, क्रोध, वासना र अज्ञानमा बित्छ । नवरात्रिले व्यक्तिलाई सचेत बनाउनुका साथै आन्तरिक शुद्धि र सात्विक ऊर्जातर्फ लैजान्छ । यसबाट व्यक्तिले आफ्नो लुकेको आन्तरिक शक्ति जगाउन सक्छ । दसैंमा जनावरको बलि दिने र मासु खाने प्रचलन गलत भएको उनको धारणा छ । फलफूल, मिठाइ लगायतका सात्विक भोजन गर्नु उपयुक्त हुने उहाँले बताए । जनावरको सट्टा आफ्ना खराब गुणको बलि दिनुपर्ने उनको कथन छ।
कर्मकाण्ड होइन, आन्तरिक प्रयोग
नवरात्रिमा खाना नखाइ उपवास लिनु, व्रत बस्नु, मन्त्र जप गर्नु मात्र पर्याप्त छैन, यदि दसौँ दिन हाम्रो अहंकार, क्रोध, लोभ, मोह पहिलेजस्तै भएमा विजयादशमी मनाउनुको अर्थ छैन । वास्तविक नवरात्रि त्यो हो जहाँ बाहिरी उत्सवका साथै व्यक्तिले आफूभित्र रहेका खराब प्रवृत्तिको त्याग गर्दछ । यी नौ दिनको उपयोग ध्यान र आध्यात्मिक साधनाका लागि गर्नुपर्ने उनको कथन छ।
दसैंको पौराणिक महत्व
पौराणिक ग्रन्थअनुसार, माता दुर्गाले महिषासुरजस्ता प्रबल असुरी शक्तिमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाइन्छ । ‘दशमी’ शब्दले मानिसका १० वटा खराब प्रवृत्तिलाई नियन्त्रण गर्नेतर्फ सङ्केत गर्छ । ती काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी हुन् । त्यसैगरी त्रेतायुगमा भगवान् रामले दशवटा टाउको भएका राक्षसराज रावणलाई पराजित गरेको दिनको सम्झनामा यो उत्सव मनाउन सुरु गरिएको विश्वास गरिन्छ।
जमराको औषधीय गुण
दसैंमा टीकासँग लगाइने जमरामा औषधीय गुण समेत रहेको छ। आयुर्वेदका अनुसार यसले रगत शुद्धीकरणमा सहयोग गर्दछ । मधुमेह र रक्तचाप नियन्त्रणमा उपयोगी छ। यसमा विभिन्न पौष्टिक तत्व पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ।
सामाजिक सांस्कृतिक पक्ष
विजयादशमीले सामाजिक सांस्कृतिक महत्व समेत बोकेको छ । यो पर्वमा विदेश र घरबाहिर रहनुभएका मानिस आफ्नो घर फर्कने, आफन्त, साथीभाइसँग भेटघाट गर्ने, टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद प्राप्त गर्ने परम्परा रहेको छ।
यसले आपसी मेलमिलाप, समझदारी र सम्बन्धलाई सुमधुर बनाउँछ। वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा रहेका नेपाली आफ्नो देशमा आउने एक अवसर हो, यो पर्व ।
ग्रामीण समाजमा समूहमा भेला भइ रमाइलो गर्ने, पिङ्ग खेल्ने, चङ्गा उडाउने लगायतका परम्पराले सामूहिक एकता बढाउँछ । नेपाली समाजमा खेतीपातीको कामबाट विश्राम लिँदै राम्रो कपडा लगाउने र मिठा खानेकुरा खाने चाडका रुपमा दसैंलाई लिइन्छ ।
साभारः गाेरखापत्र ।
