बहुआयामिक साझेदारीको मार्गचित्र कोरिने विश्वास

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल–भारत सम्बन्धलाई बहुआयामिक दिशामा केन्द्रित गर्ने रणनीतिका साथ प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि भाेली आइतबार दिल्ली प्रस्थान गर्ने तय भएको छ । शुक्रबार दुवै देशले एकैसाथ पत्रकार सम्मेलनमार्फत नेपालका प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक जानकारी गराएका छन् ।

नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय र भारत सरकारका तर्फबाट भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीको औपचारिक निमन्त्रणामा यही मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने  घोषणा गरेको हो ।

सिंहदबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी दिए  ।

परराष्ट्र सचिव राईका अनुसार प्रधानमन्त्रीको साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू रहने छन् । उनले भने  “यो भ्रमण दुवै देशका जनताका लागि पारस्परिक लाभ अधिकतम हुने गरी, भविष्यमुखी दृष्टिकोणका साथ हाम्रा विविध सहयोगात्मक साझेदारीहरूको समीक्षा गर्ने एक महत्वपूर्ण अवसर हुने छ ।”

सरकारको प्रतिनिधिमण्डलमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी रहने छन् । साथै निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी तथा निजी खर्चमा नेपालका दुई दर्जनभन्दा बढी पत्रकारको टोली पनि दिल्ली पुग्ने सचिव राईले बताए ।

मोदीसँग सोमबार वार्ता

प्रधानमन्त्री शाहको भारत भ्रमणको प्रमुख केन्द्रबिन्दुका रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ता रहेको छ । मङ्सिर ७ गते सोमबार हुने उक्त भेटवार्ताले नेपाल र भारतबिचको सम्बन्धको भावी मार्गचित्र कोरिने अपेक्षा नेपाल सरकारले लिएको छ ।

भेटमा दुई देशको सम्बन्धका समग्र पक्षमा दुई देशका प्रधानमन्त्रीले एउटै टेबलमा गर्नुहुने वार्तालाई निकै महत्वका साथ हेरिएको परराष्ट्र सचिव राईले औँल्याए  । उक्त भेटमा आपसी हित, हालसम्म गिजोलिएका सीमा समस्याका रेसा केलाउने प्रयत्न प्रधानमन्त्रीद्वयले गर्ने छन् ।

त्यस्तै भोटेकोशी विपत्पछिको पुनर्निर्माणमा भारतको दरिलो साथको आशा प्रधानमन्त्री शाहले छिमेकी नेतृत्वसमक्ष राख्ने छन् । आर्थिक साझेदारीसँगै यस पटक दुई देशबिच नेपालमा भारतको लगानीमा सञ्चालन हुने पञ्चेश्वर योजनालाई अघि बढाउने विषयमा गहन परामर्श हुने सम्भावना छ ।

कार्यसूचीमा बहुआयामिक विकास 

भ्रमणका बेला दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सम्बन्धित योजनाको विभिन्न स्थानमा उद्घाटन तथा शिलान्यास हुने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले जानकारी दिए  । जस अनुसार जनकपुरदेखि अयोध्यासम्मको रेलवे सेवाको सामूहिक उद्घाटन हुने छ । उनले भने , “भारत नेपालको प्रमुख विकास साझेदार हो, दुई देशका नेतृत्वहरूबिच व्यापार, आपसी सहयोग, ऊर्जामा साझेदारी, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास तथा सामूहकि आर्थिक विकासबारे छलफल हुने छ ।”

भ्रमणका क्रममा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन, विकाससम्बन्धी सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षरसहित आदानप्रदान हुने कार्यसूची रहेको छ ।  भ्रमणबाट नेपाल र भारतबिचमा रहिआएको पुरानो सम्बन्ध थप सुदृढ हुने नेपालले विश्वास  गरेको छ ।

भ्रमणका अवसरमा नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा प्रधानमन्त्री शाहले पुष्पहार चढाउने छन् । नेपाल–भारत व्यापार फोरमको कार्यक्रममा भारतीय लगानी नेपालमा भित्र्याउन वातावरण सिर्जना गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधित्व जनाउने छन् ।

भ्रमणबाट प्राप्त हुने उपलब्धिले द्विपक्षीय साझेदारीलाई गति प्रदान गर्दै नेपाली नागरिकलाई प्रत्यक्ष अनुभूति गर्ने गरी लाभदायी हुने अपेक्षा सरकारले लिएको सचिव राईले औँल्याए  । मन्त्रालयका अनुसार द्विपक्षीय सम्बन्धलाई थप मजबुद बनाउन उच्चस्तरीय भ्रमणले सहयोग पुर्‍याउने छ । साथै दुई देशबिचको इतिहास, सभ्यता, संस्कृति, तथा जनस्तरको घनिष्ठ सम्बन्धलाई थप उचाइ प्रदान गर्ने छ ।

सम्बन्ध थप सुदृढ हुने

भारतले यो भ्रमणबाट दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वासको वातावरण बन्ने बताएको छ । यस भ्रमणबाट प्राप्त हुने उपलब्धिले द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्नका साथै नागरिकको अपेक्षा पूरा हुने आशा लिएको भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भारतमा हुने प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणलाई अत्यधिक महत्व दिइएको छ । प्रधानमन्त्री मोदीसँगको वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गरिनुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान हुने भारत सरकारले जनाएको छ ।

व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल सम्पर्क सञ्जाललगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगले प्रगति हासिल गरेको दाबी भारत सरकारले गरेको छ । साथै स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन र खेलकुद जस्ता नयाँ क्षेत्रमा सहकार्य बढ्ने वक्तव्यमा जनाइएको छ । भारतको ‘छिमेकी पहिलो’ नीतिले नेपालसँगको सम्बन्धलाई दिने महत्वलाई झल्काएको औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *