चिसो बढेसँगै श्वासप्रश्वास र निमोनियाका बिरामी बढे

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चिसो मौसमको सरुवातसँगै विभिन्न स्वास्थ्य समस्याका बिरामी बढ्न थालेका छन् । जाडोमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । काठमाडौँ उपत्यकाको वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढेको हो । जाडो मौसममा रुघाखोकी, निमोनिया, ब्रोङ्काइटिस, दम, श्वास प्रश्वाससम्बन्धी समस्या तथा छालाका रोग बढी देखिने गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीले चिसो मौसममा बिरामीको चाप बढ्ने गरेको जानकारी दिदै गर्मीमा सरुवा रोगका बिरामीको चाप बढ्ने , जाडो मौसममा निमोनिया, दम, सिओपीडी, रुघाखोकी तथा स्वास प्रश्वासका बिरामीहरु अस्पतालमा आउने गरेको जानकारी दिए  ।

पाटन अस्पतालमा चिसो मौसम परिवर्तन भएसँगै आउने बिरामीको चाप सामान्य अवस्थामाभन्दा बढेको उहाँको भनाइ छ । वरिष्ठ फिजिसियन डा. लोचन कार्कीले जाडो मौसममा श्वास प्रश्वाससम्बन्धी सङ्क्रमणको जोखिम बढ्ने गरेको बताए  ।

चिसोका कारण शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिनुका साथै पहिले नै दम, मुटु तथा फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने बताए  । जाडोमा देखिने प्रमुख समस्यामा रुघाखोकी, घाँटी दुख्ने, टन्सिल, दम, ब्रोङ्काइटिस र निमोनिया पर्छन् ।

कार्कीले छाला सुख्खा हुने, चिलाउने तथा फुट्ने समस्या पनि चिसो मौसममा बढी देखिने बताउदै उनले  चिसोका कारण शारीरिक गतिविधि कम हुनु, बन्द कोठामा बस्नु र धुलो तथा धुवाँको सम्पर्कमा रहनुले पनि स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जनाए  ।

बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा

जाडो मौसममा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रुपमा विकसित भइसकेको हुँदैन भने ज्येष्ठ नागरिकमा उमेरसँगै रोगसँग लड्ने क्षमता कमजोर हुँदै जाने भएकाले उनीहरू चिसोबाट बढी प्रभावित हुन सक्छन् ।

डा. कार्कीले विशेषगरी साना बालबालिकामा रुघाखोकी, निमोनिया तथा श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणको जोखिम बढी हुने बताउनुभयो ।  बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा लगाइ दिने, टोपी, मोजा र पन्जाको व्यवस्था गर्ने तथा राति सुत्दा पर्याप्त न्यानो ओढ्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

उनले ज्येष्ठ नागरिकलाई बिहान र बेलुकाको अत्यधिक चिसोमा बाहिर निस्कन नदिनुका साथै घरभित्र पनि न्यानो वातावरण कायम राख्नुपर्ने बताए  । उनले दम, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकले नियमित औषधी सेवन र स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए  ।

चिसोबाट जोगिन आग्रह 

डा. कार्कीका अनुसार चिसोबाट बच्न सबैभन्दा पहिले शरीरलाई न्यानो राख्न आवश्यक हुन्छ । उनले मौसमअनुसार बाक्लो तथा न्यानो कपडा लगाउने, बिहान र बेलुका अत्यधिक चिसोमा अनावश्यक रूपमा बाहिर ननिस्कने र घरभित्र पर्याप्त न्यानोपन कायम राख्न सुझाव दिए  । खानपानमा पनि विशेष ध्यान दिनुपर्छ, कार्कीले भने , “तातो तथा पोसिलो खाना, सुप, झोलिला परिकार र पर्याप्त मात्रामा पानी तथा अन्य तरल पदार्थ सेवन गर्नुपर्छ । शरीरलाई आवश्यक पोषण प्राप्त हुँदा रोगसँग लड्ने क्षमता कायम राख्न मद्दत पुग्छ ।”

उनका अनुसार साबुनपानीले नियमित हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने र रुघाखोकी लागेका व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्ने गर्नुपर्छ । भिडमा जाँदा आवश्यक सावधानी अपनाउनुका साथै धुलो र धुवाँबाट समेत जोगिनुपर्छ ।

जाडोमा लगातार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा बालबालिकाले दुध खान छाड्ने तथा असामान्य रुपमा सुस्ताउने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ, उहाँले सुझाव दिए  ।

सामान्य रुघाखोकी भनेर बेवास्ता गर्दा निमोनिया लगायतका समस्या गम्भीर बन्न सक्ने भएकाले समयमै उपचार गराउनु आवश्यक हुने उनको भनाइ छ । उनले चिसो मौसममा सामान्य सावधानी, सन्तुलित खानपान र सरसफाइमा ध्यान दिन सके धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने  साथै उनले  विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको हेरचाहमा परिवारका सदस्यले थप सतर्कता अपनाउनुपर्ने बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *