पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा जङ्गली जनावरले घरपालुवा पशु मार्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तिहारअघि बकैया गाउँपालिका–७ मा स्थानीयका पाँच वटा खसीबाख्रा जङ्गली जनावरले मारेको र बिहीबार गाउँपालिका–८ र ९ को सीमावर्ती सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार कालिवन सामुदायिक वन र देउताखोला सामुदायिक वन क्षेत्रमा वयस्क बाघ बच्चासहित देखिएको हो । बाघले आधा दर्जन बाख्रा मारेको सामुदायिक वन उपभोक्ता महासङ्घ बकैया गाउँ समितिकी अध्यक्ष सूर्यकला तिमल्सिनाले जानकारी दिए । उनका अनुसार चुरे क्षेत्रको जङ्गल तथा चारकोसे झाडीबाट बाघ आएको हुन सक्ने अनुमान गरिएको छ ।
तिमल्सिनाले स्थानीय बासिन्दालाई सजग र सतर्क रहन आग्रह गरे । घाँसदाउरा गर्न वन क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन, एक्लै नजान र समूहमा रहेर वन क्षेत्रको अनुगमन गर्न उनले अनुरोध गरे । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित वन कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय सरकारले तत्काल निगरानी तथा सुरक्षा व्यवस्था मिलाउनुपर्ने स्थानीयको माग छ ।
सबडिभिजन वन कार्यालय छतिवनका प्रमुख पूर्णप्रसाद पोखरेलले जङ्गली जनावरले स्थानीयका खसीबाख्रा मारेको जानकारी प्राप्त भएको बताए तर, आक्रमण गर्ने जनावर पाटेबाघ हो वा चितुवा भन्ने एकिन भइनसकेको उनले स्पष्ट पारे । क्यामेरा ट्र्यापिङ गरेपछि मात्रै जनावरको पहिचान गर्न सकिने उनको भनाइ छ ।
