सरकारको नीति कार्यान्वयनपछि परिचय फेर्दै हुलाक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा दिने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुँदैगएको छ ।

नयाँ सरकार गठनपछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाक सेवालाई सुधार गरी सरकारी कुरियर सेवाका रुपमा स्थापित गर्ने पनि एउटा थियो। जसअनुसार परम्परागत चिठ्ठीपत्र ढुवानीमा सीमित हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्यसहित सरकारले सेवा आधुनिकीकरण र विस्तारलाई तीव्रता दिएको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक क्षेत्रलाई नागरिकको घरदैलोमै सेवा दिने संस्थाका रुपमा विकास गर्ने सरकारको योजना कार्यान्वयनका लागि साधन स्रोतको अभाव हुन नदिने र हुलाक क्षेत्रलाई पुनर्जागृत गरी नागरिक सेवामुखी बनाउने बताउँदै आएका  छन्। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नागरिकता प्रतिलिपि, स्वास्थ्य सामग्री, सिमकार्डलगायत सरकारी कागजात तथा सामग्री नागरिकको घरमै पुर्‍याउने सेवा सञ्चालन गरिरहेको छ ।

देशभर सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय कुरियर कारोबार बढ्नु, विश्व हुलाक संघको मूल्याङ्कनमा नेपालको अंक सुधार हुनु र दुर्गम क्षेत्रमा सेवा विस्तारबापत अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त हुनुले हुलाक सेवामा सुधारको संकेत देखिएको विभागको भनाइ छ। विभागले २०८२ चैत २३ गते सिराहाबाट सुरु गरेको घरदैलो सरकारी सेवा वितरण कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार गरेको छ । यस कार्यक्रममार्फत सरकारी कार्यालयसम्म पुग्नुपर्ने कतिपय कागजात तथा सामग्री हुलाकमार्फत नागरिकको घरमै उपलब्ध गराउन थालिएको छ ।

विभागको २०८३ मङ्सिर २ गतेसम्मको तथ्याङ्कअनुसार सरकारी कुरियर सेवामार्फत कागजात तथा सामग्री ढुवानी र वितरणमा उल्लेख्य प्रगति देखिएको छ।

राहदानी वितरणका लागि जिल्ला प्रशासन कार्यालयसम्म तीन लाख ७० हजार ९२५ राहदानी ढुवानी गरिएको छ भने १२ हजार ४३३ राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ । सवारी चालक अनुमतिपत्रतर्फ १३ लाख ५३ हजार ९० वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म र एक हजार १०६ वटा सेवाग्राहीको घरमै वितरण गरिएको बताइएको छ।

त्यस्तै, २६५ वटा शैक्षिक प्रमाणपत्र ढुवानी तथा वितरण गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ७२९ नमुना ढुवानी गरिएको विभागले जनाएको छ । स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको सो कार्यालयले जनाएको छ।

नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्रीतर्फ २२१ वटा सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको छ भने ४४ वटा सिमकार्ड घरमै वितरण गरिएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको विभागले जनाएको छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पछिल्लो समय हुलाक सेवाको प्रभावकारिता र पहुँच दुवै बढ्दै गएको बताइन् । उनका अनुसार गाउँगाउँसम्म सेवा विस्तार हुनु, नागरिकको विश्वास बढ्नु, संस्थाले सम्मान पाउन थाल्नु र अन्तर्राष्ट्रिय कुरियर सेवाको कारोबार बढ्नुले हुलाक सेवामा सुधार हुँदै गएको देखाउँछ ।

“हुलाक सेवाप्रति नागरिकको विश्वास बढेको छ । संस्थाले सम्मान पाउन थालेको छ । गाउँगाउँसम्म सेवा विस्तार भएको छ भने अन्तर्राष्ट्रिय कुरियर सेवाको संख्या र कारोबार पनि बढिरहेको छ । युनिभर्सल पोस्टल युनियनको मूल्याङ्कनमा नेपालको अंक बढ्नु पनि हुलाक सेवामा भइरहेको सुधारको सकारात्मक संकेत हो” उनले भनिन्।

केही समयअघि रुग्ण अवस्थामा रहेको हुलाक अब उठ्छ र गतिमा अघि बढ्छ भन्ने आत्मविश्वास पलाएको उल्लेख गर्दै उनले सीमित स्रोतसाधन, बजेट अभाव र प्राविधिक जनशक्तिको कमी भने अझै चुनौतीका रूपमा रहेको बताइन ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दै उपस्थिति

हुलाक अहिले देशभित्र सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने प्रयासमा छ । नेपालले विश्व हुलाक संघ (युनिभर्सल पोस्टल युनियन–यूपीयू) को सदस्य राष्ट्रका रूपमा आफ्नो भूमिका र सहभागिता बढाउँदै लगेको छ । विभागले लेटर पोस्ट कम्पेन्डियम र पार्सल पोस्ट कम्पेन्डियम अद्यावधिक गरी पठाएको विवरण यूपीयूबाट प्रकाशित भएको जनाएको छ।

नेपाल र नेदरल्यान्ड्सबीच हुलाक वस्तुको ढुवानी सहज बनाउने विषयमा बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा नेदरल्यान्ड्स पोस्ट र नेपाल पोस्टबिच छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि १४ वटा गन्तव्यको मार्ग योजना तयार गरिएको विभागले जनाएको छ।

हुलाक सेवाको आधुनिकीकरण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारको पहलका लागि नेपाल हुलाकले एसिया–प्रशान्त हुलाक संघ (एपीपीयू) को ‘आउटस्ट्यान्डिङ इनिसिएटिभ्स सर्भिस इन रिमोट एरियाज’ पुरस्कार प्राप्त गरेको छ । नागरिकको घरदैलोमा सेवा विस्तार गरेबापत प्राप्त उक्त सम्मानले हुलाकको सेवा सुधार प्रयासलाई अन्तर्राष्ट्रिय पहिचान दिएको विभागको बुझाइ छ। महानिर्देशक पंगेनीका अनुसार गोश्वारा हुलाक कार्यालयमार्फत अन्तर्राष्ट्रिय कुरियरको संख्या र कारोबार पनि उल्लेख्य रूपमा बढिरहेको छ ।

सरकारी सेवाको साझेदार बन्दै हुलाक

हुलाकलाई सरकारी सेवा वितरणको भरपर्दो माध्यम बनाउने उद्देश्यले विभिन्न सरकारी निकाय, अस्पताल, सेवा प्रदायक संस्था र जिल्ला प्रशासन कार्यालयसँग सहकार्य तथा सम्झौता विस्तार गरिएको छ । विभागले विभिन्न निकायका कागजात, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र, सिमकार्ड र सरकारी सामग्री नागरिकसम्म पु¥याउन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै लगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी प्रयोगशालासम्बन्धी सामग्री ढुवानीलाई प्रभावकारी बनाइएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग २०८३ जेठ १ गते भएको सम्झौताअनुसार डाँक तथा सामग्री ढुवानी भइरहेको छ।

नेपाल टेलिकमका सिमकार्डलगायत सामग्री हुलाकमार्फत वितरण गर्ने सम्झौता २०८३ जेठ १८ गते भएको थियो । सिमकार्डबाहेक अन्य सामग्री विभाग मातहतका कार्यालयमार्फत ढुवानी गर्ने काम साउन १ गतेदेखि सुरु गरिएको हो । स्वास्थ्य बीमा बोर्डसँग पनि २०८३ जेठ १८ गते सम्झौता गरी जेठ १९ गतेदेखि स्वास्थ्य सामग्री ढुवानी थालिएको विभागले जनाएको छ ।

राहदानी, चिठ्ठीपत्र तथा अन्य सामग्री जिल्ला प्रशासन कार्यालयसम्म पु¥याउन राहदानी विभाग र हुलाक सेवा विभागबिच २०८३ जेठ १९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार साउन १ गतेदेखि डाँक ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागसँग २०८३ साउन ८ गते जग्गाधनी प्रमाणपुर्जा तथा सरकारी कागजात ढुवानी र वितरणसम्बन्धी सम्झौता गरिएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग हुलाक टिकट छपाइसम्बन्धी सम्झौता गरिएको छ । त्रिभुवन विश्वविद्यालयसँग विद्यार्थीका शैक्षिक प्रमाणपत्रलगायत हुलाक वस्तु ढुवानी तथा वितरणसम्बन्धी सम्झौता २०८३ कात्तिक १७ गते भएको छ । यसबाट विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र घरमै उपलब्ध गराउने सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।

सवारी चालक अनुमतिपत्र घरमै पुर्‍याउने प्रणालीलाई थप प्रभावकारी बनाउन हुलाकको पीआईटीएस (पिट्स) प्रणाली र यातायात व्यवस्था विभागको ईडीएलभीआरएस प्रणालीबिच अन्तरआबद्धता गरिएको छ । यसका लागि हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच २०८३ असोज ६ गते त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रणालीबिच अन्तरआबद्धता भएपछि अनुमतिपत्र ढुवानी तथा वितरण सहज भएको विभागले जनाएको छ ।

दुर्गम क्षेत्रमा सेवा विस्तार 

हुलाक सेवाको प्रभावकारिता बढाउन डाँक ढुवानी प्रणालीमा सुधार, हवाई यातायातको प्रयोग र वैकल्पिक मार्ग पहिचानलाई पनि प्राथमिकता दिइएको छ । विभाग र यती एयरलाइन्सबीच जेठ ८ गते सम्झौता भई हवाई मार्गबाट आन्तरिक डाँक ढुवानी भइरहेको छ । आर्थिक वर्ष २०८३–८४ का लागि हवाई डाँक ढुवानी सम्झौता असोज २१ गते नवीकरण गरिएको छ।

डाँक ढुवानी सहज बनाउन थप काउन्टर स्थापना गर्ने र वैकल्पिक मार्ग पहिचान गर्ने कामसमेत अघि बढाइएको छ । विपद्का समयमा पोखराबाट मुस्ताङ जाने डाँकका लागि मल्लाज हुँदै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रमा सेवा विस्तार तथा डाँक ढुवानी सहज बनाउन गोदावरी नगरपालिका–चापागाउँमा हुलाक काउन्टर स्थापना गरी सेवा सञ्चालन गरिएको छ ।

कानुनी तथा प्रशासनिक सुधारको प्रयास

हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजनालाई संस्थागत बनाउन हुलाक सेवा ऐन संशोधन तथा परिमार्जनको प्रक्रिया अघि बढाइएको छ । ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गरिसकिएको विभागले जनाएको छ।

विभागले प्रशासनिक तथा वित्तीय सुधारलाई समेत प्राथमिकतामा राखेको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको बेरुजु फर्छ्योट गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । अन्तर्राष्ट्रिय डाँक लेखा प्रणाली सुदृढीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्नुका साथै डाँक ढुवानी, अन्तर्राष्ट्रिय सेवा, शुल्क निर्धारण, सेवा विस्तार र प्रविधिको प्रयोगमा सुधारका कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।

यसरी, परम्परागत हुलाक सेवालाई नागरिकको दैनिक आवश्यकतासँग जोड्दै सरकारी कागजात घरमै पु¥याउने, दुर्गम क्षेत्रमा पहुँच विस्तार गर्ने र अन्तर्राष्ट्रिय कुरियर कारोबार बढाउने प्रयासले हुलाकलाई नयाँ स्वरूपमा स्थापित गर्ने आधार तयार हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *