डाविड मलानले अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका लागि मलानले ५१ बलमा नौ चौका र दुई छक्काको मद्दतमा अविजित ७१ रन बनाए ।
ओपनर कमिल मिशारा दोस्रो ओभरमै चार रन बनाएर आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म क्रिजमा टिकेर टोलीको इनिङ्स सम्हाले । उनले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गर्नुभयो । खानले १६ बलमा एक छक्कासहित १८ रन बनाए ।
त्यस्तै कमल सिंह ऐरीले आठ बलमा एक छक्कासहित १० रन जोडे । चितवनका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कमिल मिशारा चार, देव खनाल छ, रवि बोपारा र कुशल मल्ल समान एक, विवेक यादव तीन तथा उसामा मिर दुई रन बनाएर आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए ।फाइनल प्रवेशका लागि दुवै टोलीका लागि यो निर्णायक खेल हो । यस खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग छ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवनले भने एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
चितवन पहिलो पटक एनपिएलको फाइनलमा पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा छ ।
