हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्केकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र शान्त वातावरणको सामीप्यमा बिताएका ती चार दिन उनका लागि अविस्मरणीय बने ।

“मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,” उनले भनिन्, “पदयात्राका क्रममा देखिने हिमाल र वरपरको वातावरणले थकान बिर्साएर मनमा नयाँ उमङ्ग पैदा गरिदियो ।”

दसैँ–तिहारको लामो बिदामा कलेजका साथीहरूसँग मर्दी पदयात्रामा पुग्नुभएकी म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँकी सुशिप्ता जिसीलाई पनि यात्राले लोभ्यायो । बिहानको सूर्योदय, हिमाल र पहाडका फेदीमा देखिने बादलको मनोरम दृश्यले यात्रालाई अविस्मरणीय बनाएको उनको अनुभव छ ।

धादिङका नारायण कँडेल छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु मर्दी पदयात्राको मुख्य विशेषता भएको बताए  । इटालीबाट आएकी पर्यटक इन्ट्राले पनि यहाँको प्राकृतिक वातावरण, हिमाली दृश्य र शान्त परिवेशले विशेष अनुभव दिएको प्रतिक्रिया दिइन  ।

खड्का, जिसी, कँडेल र इन्ट्राजस्तै छोटो समयको पदयात्रामै हिमालको सामीप्यमा पुग्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा मर्दी हिमाल पदमार्ग पर्दै गएको छ । घना जङ्गल, हरियाली, ग्रामीण बस्ती र हिमाली भूगोलको सङ्गम रहेको यस पदमार्गले यात्रुहरूलाई प्रकृतिका विविध रूपसँग साक्षात्कार गराउँछ ।

काठमाडौँकी निकिता कार्कीका अनुसार पदयात्राका क्रममा देखिने हिउँले ढाकिएका हिमाल, डाँडाकाँडा र स्वच्छ वातावरणले यात्रालाई बेग्लै अनुभूति दिन्छ । एउटै क्षेत्रबाट मर्दी, माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण र गन्धर्वचुलीलगायत १३ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

बादलसँग लुकामारी खेल्दै हिमालको सौन्दर्य

मर्दी हिमाल पदमार्गको अर्को आकर्षण यहाँको बदलिरहने मौसम र बादलको लुकामारी हो । केही क्षणअघि बादलले छोपिएका हिमाल एकाएक खुलेर देखिँदा यात्रुहरू मन्त्रमुग्ध हुन्छन् । सूर्योदय र सूर्यास्तका बेला हिमालमा देखिने सुनौलो रङले पदयात्राको सौन्दर्य थप बढाउँछ ।

बादलडाँडादेखि भ्यु पोइन्टसम्म डाँडैडाँडा यात्रा गर्दा पोखरा उपत्यका, अन्नपूर्ण आधार शिविर र आसपासका हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । भेडाबाख्रा, चौँरी र भैँसीका घुम्ती गोठले परम्परागत ग्रामीण जीवनशैलीको झल्को दिन्छन् ।

वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँस, हरियाली वन र चराचुरुङ्गीको चिरबिर आवाजले यस क्षेत्रलाई थप आकर्षक बनाउँछ । हिमाली प्रकृतिसँगै वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न चाहनेका लागि पनि यो उपयुक्त गन्तव्य हो ।

मर्दी हिमाल पदमार्गका संस्थापक सचिव शिवकुमार भण्डारीका अनुसार सन् २०२१ मा गरिएको अध्ययनले यस क्षेत्रमा एक सय १२ प्रजातिका चराको बासस्थान रहेको देखाएको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनमा सेतो गिद्ध, हिमाली गिद्ध, काँडे भ्याकुर र नदीचरीजस्ता महत्वपूर्ण प्रजातिका चरा पाइने पुष्टि भएको उनले बताए  ।

“यो पदमार्ग हिमाल, बादल र प्राकृतिक दृश्यावलोकनका लागि मात्र नभई चराचुरुङ्गी तथा जैविक विविधताको दृष्टिले पनि महत्वपूर्ण छ,” भण्डारीले भने , “अध्ययनले यहाँको चराचुरुङ्गीको विविधता पुष्टि गरेपछि हिमाली पर्यटनसँगै चराअवलोकन र प्रकृतिमा आधारित पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिरहेका छौँ ।”

छोटो यात्रामै हिमालको नजिक

तीनदेखि चार दिनमा पदयात्रा पूरा गर्न सकिने र अन्य कतिपय पदमार्गको तुलनामा सहज मानिने भएकाले मर्दी हिमाल पदमार्गमा पर्यटकको आकर्षण बढेको हो । पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार अनुकूल मौसम र दसैँ–तिहार–छठको बिदाका कारण कात्तिक महिनामा दैनिक छ सयदेखि सात सय जनासम्म पर्यटक आउने गरेका छन् ।

तीमध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक रहेको उनको भनाइ छ । “पर्यटकको आगमन बढ्नु सुखद पक्ष हो । तर, सीमित क्षमताका होटलमा पाहुनाको चाप बढ्दा बसोबास व्यवस्थापन मुख्य चुनौती बनेको छ,” तामाङले भने ।

पर्यटकको सख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा होटलका भोजनकक्षमा समेत राख्नुपर्ने अवस्था आएको उनले बताए  । पदमार्गको हाइक्याम्पसम्म मात्रै होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । भ्यु पोइन्ट र आधार शिविर क्षेत्रमा भने होटल तथा रेस्टुरेन्ट छैनन् ।

हाइक्याम्पमा रहेका १४ वटा होटलमा २५ भन्दा बढी शैया राख्न नपाइने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले होटल तथा कोठाको संख्या निश्चित गरेकाले मुख्य पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिन हुने गरेको व्यवसायी कविता अर्याल गौतम बताइन् ।

“अघिल्लो वर्षभन्दा यसपटक मर्दीमा पर्यटकको सङ्ख्या धेरै बढेको छ । फरेस्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पाहुना राख्न सक्ने अवस्था छैन,” उनले भनिन्, “पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्छ ।”

कसरी पुग्ने?

पोखराबाट सवारीसाधनमा कालीमाटी, सिदिङ, धम्पुस र काँडे पुगेर पर्यटकले पदयात्रा सुरु गर्छन् । फरेस्ट क्याम्प पुगेपछि मुख्य पदमार्गमा जोडिन्छन् । फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाडा, हाइक्याप क्याम्प हुँदै भ्यु पोइन्ट पुगिन्छ ।

त्यसपछि एक घण्टा थप यात्रा गरेर पुगिने चार हजार पाँच सय मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर((बेसक्याम्प) यस पदमार्गको प्रमुख तथा अन्तिम गन्तव्य हो ।

हाइक्याम्पभन्दा माथि होटल तथा रेस्टुरेन्ट नहुँदा पर्यटकले आवश्यक तयारी गरेर मात्रै माथिल्लो क्षेत्रको यात्रा गर्नुपर्छ । माथिल्लो बादलडाँडा र हाइक्याम्पमा रात बिताउने पर्यटक बिहानै उठेर भ्यु पोइन्टमा सूर्योदय हेर्न पुग्छन् । त्यसपछि आधार शिविर पुगेर दिउँसो फर्कने गर्छन् ।

भ्यु पोइन्टदेखि आधार शिविरसम्मको क्षेत्रमा मौसम छिनछिनमा परिवर्तन हुने, कुहिरो लाग्ने र बाटो बिराएर हराउने जोखिम हुने भएकाले सहयोगीबिना यात्रा नगर्न बादलडाँडाका होटल व्यवसायी नेत्र तामाङको सुझाव छ ।

पदयात्रा सकेर फर्कने क्रममा अधिकांश पर्यटक लो क्याम्पबाट सिदिङ झरेर सवारीसाधनमा पोखरा पुग्ने बाटो रोज्छन् । सिदिङ र कालीमाटीबाट जीपमा करिब एक घण्टामा पोखरा पुग्न सकिन्छ । यातायात खर्चबाहेक प्रतिव्यक्ति दैनिक तीन हजारदेखि पाँच हजार रुपिँया सम्म बजेट आवश्यक पर्ने व्यवसायी बताउँछन् । होटलमा खाद्यान्नलगायत सामग्री खच्चड र भरियामार्फत ढुवानी गर्नुपर्ने भएकाले अन्य कतिपय पर्यटकीय गन्तव्यको तुलनामा यहाँको बसाइ महँगो पर्ने पर्यटकको गुनासो छ ।

गोठ र खर्कबाट पर्यटकीय स्थलमा रुपान्तरण 

मर्दी हिमाल पदमार्ग सन् २०१२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । त्यसअघि यस क्षेत्र स्थानीयवासीका गाईभैँसी, भेडाबाख्रा र चौँरीका घुम्ती गोठ तथा चरन क्षेत्रमा सीमित थियो । पशुका घुम्ती गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । माछापुच्छ्रे गाउँपालिका–९ का स्व सुदीप गौतमको नेतृत्वमा स्थानीय समुदायले घरगोठ गर्न प्रयोग गर्दै आएको परम्परागत बाटोलाई पदमार्गका रूपमा विकास गरेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) का अनुसार तत्कालीन समयमा मर्दी क्षेत्रमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठबाहेक पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार थिएनन् । पदयात्रा पर्यटनको सम्भावना पहिचान गरी गौतमले गरेको निरन्तर प्रयासकै कारण आज मर्दी हिमाल पदमार्ग विश्वभरका पर्यटकमाझ परिचित भएको हो ।

मर्दी पदमार्गका पिताका रूपमा चिनिने गौतमको २०७९ असोज १४ गते हाइक्याम्प क्षेत्रमा भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो । पदमार्गको अन्वेषण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउनुभएका गौतमको सम्मानमा बादलडाँडामा सालिक स्थापना गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डको सहकार्यमा सालिकसहितको पार्क निर्माण गरिएको हो ।

गौतमले सन् २००७ मा मार्दी हाइक्याम्पमा ‘होटेल ट्रेकर्स प्याराडाइज’ सञ्चालन गर्नुअघि फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र डुँडखर्कलगायत स्थानमा होटल थिएनन् । पर्यटकले क्याम्पिङ गरेर रात बिताउनुपर्ने अवस्था थियो । उनको प्रयासपछि क्रमशस् होटल तथा अन्य पर्यटन पूर्वाधार विकास हुँदै जाँदा पर्यटकलाई बसोबासको सुविधा उपलब्ध हुन थालेको हो ।

गौतमको योगदानलाई स्मरण गर्दै उनका परिवारले मार्दी हिमाल आधार शिविरमा शिव मन्दिर निर्माण गर्ने योजना पनि अघि सारेका छन् ।

पर्यटनसँगै आम्दानी र रोजगारीको अवसर 

पदयात्रा पर्यटनको विकाससँगै यस क्षेत्रका स्थानीयवासीको आर्थिक तथा सामाजिक जीवनमा पनि परिवर्तन आएको छ । होटल, रेस्टुरेन्ट, चिया पसल र अन्य पर्यटनसम्बन्धी व्यवसाय विस्तार भएपछि रोजगारी तथा आम्दानीका अवसर बढेका छन् । फरेस्ट क्याम्प होटल व्यवस्थापन समितिका अध्यक्ष अमृत दाहालका अनुसार स्थानीय व्यवसायीले आफ्नै गाउँमा उत्पादन भएका ताजा तरकारी, दूध, घ्यू तथा स्थानीय कुखुराबाट पर्यटकलाई परिकार बनाएर खुवाउने गरेका छन् ।

“होटल तथा पर्यटन व्यवसायको विस्तारले स्थानीयवासीलाई गाउँमै रोजगारी र आम्दानीको अवसर दिएको छ,” उनले भने, “पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको खपत पनि बढेको छ ।”

पदयात्रा मार्गको तल्लो क्षेत्र गुराँसको जङ्गलभित्र पर्दछ । ढुङ्गाका सिँढी बनाएर पदमार्ग व्यवस्थित गरिएको छ । यात्राका क्रममा जथाभावी फोहोर देखिँदैन् । फोहोर सङ्कलन तथा व्यवस्थापनका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ। सडक विस्तारको सम्भावना न्यून रहेको यस क्षेत्रमा प्राकृतिक वातावरण र पदमार्गको मौलिकता जोगाउने अवसर पनि छ ।

संरक्षण र व्यवस्थापनमा चुनौती

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको संख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । पर्यटकको आकर्षण बढ्दै जाँदा त्यसअनुसार सेवा तथा पूर्वाधार विकास गर्नुका साथै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।

गाउँपालिका, एक्याप, प्रदेश तथा सङ्घीय सरकारमार्फत पूर्वाधार निर्माण र पर्यटकको बसाइ व्यवस्थापनमा देखिएका चुनौती समाधान गर्न पहल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए  ।

संरक्षण क्षेत्रसम्बन्धी पुराना नीतिमा आवश्यक संशोधनका लागि समेत पहल गरिएको उनको भनाइ छ । पर्यटकको बढ्दो आगमनलाई व्यवस्थित गर्न होटलको क्षमता, विद्युत् तथा सञ्चार सुविधाको नियमित उपलब्धता, पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली र सुरक्षाको प्रभावकारी व्यवस्था आवश्यक देखिन्छ ।

विशेषगरी हाइक्याम्पभन्दा माथिल्लो क्षेत्रमा मौसमको जोखिम, बाटो पहिचान र उद्धार व्यवस्थालाई प्राथमिकता दिनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र छोटो अवधिमै हिमालको सामीप्यमा पुग्न सकिने विशेषताले मार्दी हिमाल पदमार्गलाई नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा स्थापित गरेको छ ।

पर्यटकको सङ्ख्या बढ्नुले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि त्यसको व्यवस्थापन र संरक्षणमा ध्यान नदिए प्राकृतिक सौन्दर्य तथा पर्यटकीय आकर्षणमा असर पर्न सक्छ ।

मर्दीको पर्यटन विकासलाई केवल पर्यटकको संख्या बढाउने विषयमा सीमित नगरी प्रकृति संरक्षण, स्थानीय समुदायको सहभागिता, सुरक्षित पदयात्रा र गुणस्तरीय सेवासँग जोड्न आवश्यक छ । माछापुच्छ्रेको काखमा रहेको मर्दीको प्राकृतिक स्पर्शलाई आगामी पुस्तासम्म जोगाउँदै दिगो पर्यटनको नमूना गन्तव्य बनाउनु आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *