आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् ।
देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा मात्रै दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
हडतालमा व्यापक सहभागिता रहेको प्रमुख श्रमिक सङ्गठन यूजीटीका प्रमुख पेपे अल्भारेजले दाबी गरेका छन् । अर्का श्रमिक सङ्गठन सीसी ओओका प्रमुख उनाइ सोर्दोले पनि सहभागिता उल्लेखनीय रहेको बताएका छन् । तर, स्पेनको व्यावसायिक सङ्गठन महासङ्घले भने विभिन्न क्षेत्रअनुसार हडतालको प्रभाव फरक रहेको र सहभागिता न्यून भएको जनाएको छ ।
आवासको चर्को मूल्यवृद्धि र जीवनयापनको बढ्दो लागतविरुद्ध लामो समयदेखि भइरहेको प्रदर्शनपछि आमहडताल आह्वान गरिएको हो । म्याड्रिडमा सात दशकदेखि बस्दै आएकी ८७ वर्षीया मारिकार्मेन अबास्काललाई घरबाट निकालिएको घटनाले आन्दोलनलाई थप चर्काएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो ।
घरभाडा अत्यधिक बढेपछि सर्वसाधारणलाई आवास व्यवस्थापन गर्न कठिन भएको छ । घरजग्गासम्बन्धी वेबसाइट आइडियलिस्टाका अनुसार अक्टोबरमा म्याड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा एक हजार १७० युरो पुगेको थियो । स्पेनको औसत मासिक कुल तलब भने करिब दुई हजार ४६० युरो रहेको छ ।
यसैबीच, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले संसद्बाट आवास सुधार योजना पारित हुन नसकेपछि गत महिना अग्रिम निर्वाचन घोषणा गरेका थिए । आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ ।
सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री मारियानो राखोयको सरकारका बेला स्पेनमा अन्तिमपटक देशव्यापी आमहडताल भएको थियो । अहिलेको आन्दोलनमा भने प्रधानमन्त्री सान्चेजले समेत श्रमिकको हडताल गर्ने अधिकारको समर्थन गरेका छन् ।
विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टीले भने सरकारले निर्वाचनमा राजनीतिक लाभ लिन हडताललाई प्रयोग गरेको आरोप लगाएको छ । आमहडतालका क्रममा विभिन्न घटनामा दर्जनौँ व्यक्ति पक्राउ परेको स्पेनको गृह मन्त्रालयले जनाएको छ ।
