नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भाग र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आज राति देशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
