चक्रवाती तुफान ‘अर्नब’ थप तीव्र बन्दै अघि बढेसँगै प्रभावस्वरूप भारतको ओडिसा राज्यका विभिन्न भागमा तीव्र हावाहुरीसहित भारी वर्षा शुरू भएको छ। प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरेको छ।
भारतीय मौसम विभाग (आईएमडी) ले ओडिसाका ६ वटा प्रमुख जिल्लाहरू पुरी, गजपति, गंजाम, रायगढा, कोरापुट र मलकानगिरिमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याउँदै ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ। यी क्षेत्रहरूमा १२ देखि २० सेन्टिमिटरसम्म भारी वर्षा हुने अनुमान गरिएको छ।
यसैगरी, राज्यका अन्य १६ वटा जिल्लाहरू- बालासोर, भद्रक, जाजपुर, केन्द्रपाडा, कटक, केन्दुझर, मयूरभञ्ज, कान्धमाल, कालाहांडी, नबरंगपुर, खुर्दा, नयाँगढ, जगतसिंहपुर, नोआपाडा, बलांगीर र बौद्धमा पनि वर्षाको जोखिमलाई हेर्दै ‘येलो अलर्ट’ जारी गरिएको छ।
चक्रवाती तुफान ‘अर्नब’ को प्रभाव ओडिसामा मात्र सीमित नरही यसले छिमेकी राज्य झारखण्डमा पनि आगामी तीन दिनसम्म भारी वर्षा गराउन सक्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित विपद्लाई ध्यानमा राख्दै राज्य सरकारले सम्पूर्ण जिल्ला प्रशासनलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।
भारत मौसम विज्ञान विभागले आगामी अक्टोबर २८ को बिहान साढे आठ बजेदेखि सुरु हुने गरी आगामी २४ घण्टाका लागि झारखण्डका राँची, खूँटी, सिमडेगा, गुमला, लोहरदगा, सरायकेला-खरसावां तथा पूर्वी र पश्चिमी सिंहभूम जिल्लाहरूमा भारी वर्षाको ‘येलो अलर्ट’ जारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा र यात्रा गर्ने यात्रुहरूलाई सुरक्षित रहन र मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।
