सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित रहन आग्रह

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनसुनपछिको समयमा विकसित भई नेपाल प्रवेश गरेको ‘अर्णव’ चक्रवातको प्रभाव हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखिन थालेको छ । बिहीबार बेलुकादेखि सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । जिल्लाको खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो तथा खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन राजा बुढाथोकीका अनुसार डिङ्बुचेभन्दा माथिल्लो क्षेत्रमा एक फिटभन्दा बढी हिमपात भइसकेको छ । हिमपात भइरहे पनि हालसम्म जिल्लाभर कुनै पनि सडक अवरुद्ध भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

माथिल्लो भेगमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न तथा मौसमको अवस्था सामान्य नभएसम्म अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ । डीएसपी बुढाथोकीका अनुसार हालसम्म हिमपातका कारण जिल्लामा कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन । मौसमको अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटक तथा स्थानीय बासिन्दालाई सतर्क र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त मौसमी बुलेटिनका आधारमा आगामी दुई दिनसम्म माथिल्लो खुम्बु क्षेत्रमा पदयात्रा, हवाई गतिविधि तथा हिमाल आरोहणलगायतका गतिविधि रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपहिरो, हिमआँधी तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ्न सक्ने भएकाले पर्यटक, पथप्रदर्शक तथा स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ । सम्भावित जोखिमबाट जोगिन खुम्बु पासाङल्हामु गाउँपालिका तथा अन्य सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पर्यटकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बिहानसम्म नाम्चे बजारभन्दा माथिल्लो क्षेत्रमा ७३० जनाभन्दा बढी पर्यटक पुगेका छन् । प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै उनीहरूलाई पछिल्लो मौसमी अवस्थाबारे जानकारी गराउने तथा नाम्चे बजार र आसपासका सुरक्षित स्थानतर्फ ल्याउने क्रम जारी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी थापा मगरले पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रहरीसहित अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए  । मौसमको अवस्था र सम्भावित जोखिमलाई निरन्तर निगरानीमा राख्दै आवश्यक सुरक्षा तथा उद्धारका लागि सम्बन्धित निकायलाई सतर्क रहन भनिएको उनको भनाइ छ । सगरमाथा क्षेत्र पदयात्रा तथा हिमाल आरोहणका लागि देश–विदेशका पर्यटक पुग्ने प्रमुख गन्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *