धार्मिक–सांस्कृतिक पर्यटनले पूर्व–पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट उचाइको नेपालकै सबैभन्दा अग्लो मूर्ति निर्माण भइरहेको छ । तर पर्याप्त आर्थिक अभावका कारण मूर्ति निर्माणको काम भने सुस्त गतिमा छ ।
तत्कालीन ७५ जिल्लाको प्रतिनिधित्व हुने गरी ७५ फिटको नेपाल आमाको मूर्ति निर्माण कार्य २०७५ सालबाट सुरु भए पनि आर्थिक समस्याका कारण समयमै पूरा गर्न नसकिएको मन्दिर निर्माण समितिका अध्यक्ष जनकराज जोशीले जानकारी दिए । मूर्ति निर्माणका लागि लाग्ने अष्ट धातुबाहेक १० करोड ८१ लाख रुपियाँ लागतमा ठेक्का प्रक्रियाबाट मूर्ति निर्माण भइरहेको जोशीले बताए ।
पूर्वको चतराधाम झैँ सुदूरपश्चिमको भम्केनीधामलाई पनि देशविदेशमा प्रख्यात बनाउन र नेपालको पूर्व र पश्चिमलाई धार्मिक पर्यटनले जोड्नका लागि जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले नेपाल आमाको मूर्ति बनाउने अभियानको थालनी गरेको जगत्गुरु आश्रम काठमाडौँका अध्यक्ष टीकाराम अर्यालले जानकारी दिए ।
मूर्ति निर्माणका लागि देवाचार्यले तीन वर्षसम्म गरेको पदयात्राका क्रममा आमनागरिकबाट प्राप्त भएको तामा, पित्तलका भौतिक वस्तुलाई गालेर प्रयोग गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यान्वयन एकाइले १७ क्विन्टल तामाको व्यवस्था गरेको मन्दिर निर्माण समितिका अध्यक्ष जोशीले बताए । यो मूर्ति २०७५ सालको अन्तिमबाट निर्माण सुरु गरिएको थियो । कोरोना महामारीका कारण दुई वर्ष काम रोकिएको थियो भने एक वर्ष नमुना मूर्ति बनाउन समय लागेको थियो ।
जगत्गुरु बालसन्त मोहनशरणको पदयात्राका क्रममा आमनागरिकबाट दुई करोड रुपियाँ सङ्कलन भएको थियो । ५० लाख रुपियाँ भीमदत्त नगरपालिकाले दिएको थियो । यस्तै बैङ्किङ प्रणालीबाट अह्वान गरेको चन्दाबाट करिब ६० लाख रुपियाँ जम्मा भएको थियो । हालसम्म मूर्ति निर्माणका लागि तीन करोड रुपियाँ खर्च भइसकेको छ ।
जाेशीले भने , “खर्च गर्ने पैसा नभए पनि स्रोत व्यवस्था गरौँला भनेर निर्माण व्यवसायीलाई काम गर्न लगाइरहेका छौँ । सरकारी निकायबाट पर्याप्त बजेट नभएका कारण काममा ढिलाइ भएको छ । अघिल्लो वर्ष १० करोड बजेट छुट्याए पनि जेनजी आन्दोलनका कारण कटौतीमा परेर काम गर्न पाइएन । यो वर्ष प्रदेश सरकारले तीन करोड रुपियाँ बजेट छुट्याएकाले त्यसबाट काम गर्दै छौँ ।”
मूर्ति निर्माणअघि २२ टन तामा, पित्तल लाग्ने अनुमान गरिए पनि जमिनमुनिको भागमा धेरै तामा, पित्तल प्रयोग भएकाले ४० टन हाराहारी लाग्ने अनुमान गरिएको छ । मूर्ति निर्माण अन्तर्गत फाइबरको काम ५८ फिटमा पुगेको छ । हातमा प्रयोग हुने खुकुरी, चक्र, तुलसीको माला र नेपालको झन्डाका लागि फाइबर राख्ने काम बाँकी रहेको जोशी बताउछन् ।
जोशीले भने , “हामी विभिन्न दाता, सङ्घसंस्था र सरकारको दानमा निर्भर छौँ । राज्यबाट पर्याप्त सहयोग भएमा यो काम हामी छिट्टै सक्नेथियौँ तर आर्थिक अभावका कारण काममा ढिलाइ भइरहेको छ ।”
यसका साथै भूमि देवताका रूपमा रहेको भम्केनीधाम मन्दिर छ हेक्टर वन क्षेत्रमा फैलिएको छ । सो धार्मिक वनभित्र गुरुकुल सञ्चालन भइरहेको छ । सुदूरपश्चिमका नौ वटा जिल्लाको प्रतिनिधित्व हुने गरी नौ कुण्ड र पाञ्चायन देवताको प्रतिनिधित्व स्वरूप पाँच कुण्ड बनाइएको छ । २०६७ सालमा भारतको काशीमा विद्वत् परिषद् सभाले बालसन्त मोहन शरणलाई जगत्गुरु पदमा अभिषेक गरेको थियो । जगत्गुरुको रूपमा नेपाल फर्किएपछि उनले पूर्व–पश्चिम नेपालको भ्रमण गरेको जोशीले जानकारी दिए ।
सुदूरपश्चिम पुग्दा त्यहाँ नेपालको परिचय झल्किने कुनै सामग्री नदेखिएपछि जगत्गुरुले नेपालीत्व झल्काउने केही देखिएन, केही गर्नुपर्यो भनेर भम्केनीधाममा ध्यान तपस्या गरेको उनले बताए । सो क्षेत्र पिछडिएको देखेपछि नेपालमा तत्कालीन ७५ जिल्लाको प्रतिनिधित्व हुने भएकाले ७५ फिटको अष्टधातु प्रयोग गरेर नेपाल आमाको मूर्ति बनाउने सङ्कल्प लिएर अगाडि बढेकाे जोशीले बताए ।
जगत्गुरुले २०७० सालमा हिमाल, पहाड तराईका विभिन्न जिल्ला, काठमाडौँ घुमेर एक/एक रुपियाँ अभियान तथा घरमा खेर गएका तामा पित्तलको भाँडा सङ्कलन गर्ने तीनबर्से अभियान चलाएका थिए । पुरातìव विभागका इन्जिनियर र पाटनबाट मूर्तिकार लगेर मूर्ति निर्माणको काम अगाडि बढाइएको छ ।
