चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई नेपालमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन् । उनले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनसमेत अनुरोध गरे  ।

कार्यालयले हिजाे सोमबार सूचना जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने भएकाले सम्भावित विपतबाट जोगिन पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको हो ।  मौसम विज्ञान विभागले कात्तिक ६ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै सोमबार चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहेको  थियाे ।

उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । यसका कारण नेपालमा भारी वर्षा हुन सक्ने र नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम निम्तिन सक्ने प्रशासनले जनाएको छ । वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिमको संकेत देखिएमा ढिलाइ नगरी नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

अति आवश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न, यात्राअघि सडक र मौसमको अवस्था बुझ्न तथा मौसम पूर्ण रूपमा नखुलेसम्म अन्नबाली काट्ने योजना नबनाउन प्रशासनले आग्रह गरेको छ । काटिसकेको अन्नबाली सुरक्षित स्थानमा राख्नसमेत अनुरोध गरिएको छ ।

सम्भावित विपद्का बेला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि तथा महत्त्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न प्रशासनले आग्रह गरेको छ । मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीबारे नियमित जानकारी लिन र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *