अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् ।
विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ । नोभेम्बर ३ मा हुन लागेको यस निर्वाचनमा संघीय संसद्का प्रतिनिधि चयन हुँदै छन् । यसलाई वर्तमान राष्ट्रपतिको कार्यशैलीमाथि जनताको प्रतिक्रिया बुझ्ने जनमतसंग्रहका रूपमा हेर्ने गरिन्छ ।
समाचार संस्था एएफपीले अमेरिकी संघीय निर्वाचन आयोग (एफईसी) को तथ्यांक विश्लेषण गर्दै निर्वाचनमा शीर्ष १५ ठूला दाताले १ अर्ब ५० करोड डलरभन्दा बढी चन्दा दिइसकेको उल्लेख गरेको छ ।
गैरनाफामूलक संस्था ‘इस्यु वान’का निर्देशक माइकल बेकलले एएफपीसँगको कुराकानीमा यो निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा खर्चिलो मध्यावधि निर्वाचन बन्न लागेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रका दाताहरूले भविष्यमा आफू अनुकूलका नीति बनाउन सजिलो होस् भनेर राजनीतिमा उल्लेख्य रकम खन्याइरहेका छन् ।
अर्बपति इलन मस्कको चन्दाका विषयमा फरक–फरक सञ्चारमाध्यमले उनको चन्दा दानका फरक–फरक विवरण प्रस्तुत गरेका छन् । एएफपीका अनुसार मस्कले यस निर्वाचनका लागि हालसम्म ३६ करोड ५० लाख डलरभन्दा बढी सहयोग गरेका छन् ।
अर्कोतर्फ, प्रविधि केन्द्रित सञ्चारमाध्यम ‘वायर्ड’ ले निर्वाचन आयोगकै तथ्यांक विश्लेषण गर्दै मस्कले रिपब्लिकन समर्थक समूहलाई कुल ४४ करोड ५० लाख डलरभन्दा बढी दिइसकेको उल्लेख गरेको छ ।
मस्कको यो सहयोग कुनै पनि मध्यावधि निर्वाचनको इतिहासमै कुनै एक व्यक्तिले गरेको सबैभन्दा ठूलो चन्दा भएको ब्लुमबर्ग टेलिभिजनकी कर्पोरेट लबिइङ पत्रकार एमिली बर्नबाउमको भनाइ छ ।
‘केही वर्षअघि मात्रै इलन मस्कले रिपब्लिकन पार्टी छाड्ने बताएका थिए । तर अहिले यही पार्टीलाई समर्थन दर्शाउने गरी उनले सर्वाधिक चन्दा दिएका छन्,’ एमिली भन्छिन्, ‘यसले अन्तिम समयमा आएर कि त रिपब्लिकन प्रतिस्पर्धालाई सुपरचार्ज गर्नेछ वा यसले रिपब्लिकनहरूलाई बचाउन केही पनि नगर्ने सम्भावना छ ।’
वायर्डका अनुसार मस्कको निजी राजनीतिक समिति ‘अमेरिका प्याक’ले अक्टोबरको पहिलो दुई सातामै ७ करोड ६० लाख डलरभन्दा बढी रकम खर्च गरेको छ । विशेषगरी टेक्ससको सिनेट दौडमा यस समितिले १ करोड ५२ लाख डलर खन्याएको छ ।यसमध्ये १ करोड २४ लाख डलर डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोविरुद्ध र २८ लाख डलर रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा खर्च गरिएको छ ।
मस्कको यो आक्रामक वित्तीय हस्तक्षेपको आलोचना गर्दै डेमोक्रेटिक उम्मेदवार टालारिकोले भनेका छन्, ‘कुनै एक खर्बपतिलाई आफ्नै व्यक्तिगत अमेरिकी सिनेटर किन्न दिने हाम्रो राजनीतिक प्रणालीमै गम्भीर कमजोरी छ ।’ मस्कको भूमिकालाई लिएर डेमोक्रेटिक सांसदहरूले उनी सम्बद्ध कम्पनी र सरकारी सम्झौतामाथि संसदीय छानबिन गर्ने चेतावनी दिएको पनि वायर्डले लेखेको छ ।
शीर्ष दाताहरूमा प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रको वर्चस्व रहेकोबारे एएफपीले विस्तृत विवरण दिएको छ । एएफपीका अनुसार १५ वटा ठूला दातामध्ये ५ वटा प्रविधि, एआई र क्रिप्टो क्षेत्रका छन् ।
भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रेसन र बेन्जामिन होरोविट्जले मात्रै ११ करोड ३० लाख डलरभन्दा बढी खर्च गरेका छन् । यसमध्ये ५ करोड डलर एआई समर्थक ‘लिडिङ द फ्युचर’ र ४ करोड ६८ लाख डलर क्रिप्टो सुपर प्याक ‘फेयरसेक’लाई दिइएको छ । क्रिप्टो एक्सचेन्ज कोइनबेस र यसका प्रमुख कार्यकारी ब्रायन आर्मस्ट्रङले ५ करोड ७० लाख डलर तथा रिपल ल्याब्स र यसका सह–संस्थापक क्रिस लार्सनले ६ करोड ८० लाख डलरभन्दा बढी चन्दा दिएको एएफपीले जनाएको छ ।
ब्रिटिस समाचार संस्था ‘द गार्जियन’ का अनुसार प्रविधि उद्योग र यसका अगुवाले सन् २०२६ को निर्वाचनलाई प्रभावित पार्न कुल आधा अर्ब डलरभन्दा बढी रकम खर्च गरिसकेका छन् ।
द गार्जियनमा पत्रकार निक रबिन्स–अर्लीको समाचार ‘हाउ टेक बिकेम द भिलेन अफ द यूएस मिड टम्र्स’ मा ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान र मार्क एन्ड्रेसनद्वारा गठित ‘लिडिङ द फ्युचर’ प्याकले ७ करोड ५० लाख डलरभन्दा बढी संकलन गरेको उल्लेख छ । एन्थ्रोपिकले ब्राड कार्सनको ‘पब्लिक फस्र्ट एक्सन’ लाई ४ करोड डलरभन्दा बढी र ‘गार्डरेल्स अलायन्स’ले १ करोड १५ लाख डलरभन्दा बढी संकलन गरेको द गार्जियनले बताएको छ ।
क्यालिफोर्नियामा अर्बपतिहरूमाथि ५ प्रतिशत सम्पत्ति कर लगाउने प्रस्ताव ‘प्रपोजिसन ४०’ को विरोधमा भएको खर्चबारे अल जजिरा र द गार्जियनले छुट्टाछुट्टै विवरण दिएका छन् । सर्गेई ब्रिन, टोनी शु, प्याट्रिक कोकिसन, क्रिस लार्सन, जोहन डोएर, माइकल मोरिट्ज र विनोद खोसलाजस्ता अमेरिकी अर्बपतिले यो कर प्रस्ताव असफल पार्न ३० करोड डलरभन्दा बढी रकम जुटाइसकेको अल जजिराले उल्लेख गरेको छ ।
यसको तुलनामा करका समर्थकहरूले ३ करोड २० लाख डलर मात्रै जुटाउन सकेका छन् । अल जजिराले मेटाका संस्थापक मार्क जकरबर्गले कर तिर्नबाट जोगिन क्यालिफोर्निया बाहिर घर किन्ने योजना बोर्डसमक्ष राखेको समेत खुलासा गरेको छ । यता द गार्जियनका अनुसार गुगलका सह–संस्थापक सर्गेई ब्रिन एक्लैले यस कर प्रस्तावको विरोधमा कम्तीमा १० करोड २० लाख डलर योगदान गरेका छन् ।
चुनावी खर्चमा अपारदर्शी वा अज्ञात स्रोतबाट आउने ‘डार्क मनी’ को प्रयोगबारे एएफपीले प्रश्न उठाएको छ । दाताको नाम सार्वजनिक गर्नु नपर्ने चार गैरनाफामूलक संस्था शीर्ष १५ दाताको सूचीमा परेका छन् । रिपब्लिकन समर्थक समूह ‘वान नेसन’ले सिनेट लिडरसिप फन्डलाई १३ करोड ८० लाख डलर र ‘अमेरिकन एक्शन नेटवर्क’ले ६ करोड ४० लाख डलरभन्दा बढी दिएका छन् ।
उता डेमोक्रेटिक समर्थक ‘हाउस मेजोरिटी फरवार्ड’ले ९ करोड ५० लाख डलर र ‘मेजोरिटी फरवार्ड’ले १० करोड ४० लाख डलर योगदान गरेका छन् । क्याम्पेन लिगल सेन्टरकी वरिष्ठ कानुनी सल्लाहकार शाना पोट्र्सलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘कालो धानको खर्च बर्सेनि बढ्दै गएको छ । आफूले हेर्ने विज्ञापनमा कसले पैसा हालिरहेको छ भन्ने मतदाताले थाहा पाउनुपर्छ ।’
न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गको खर्चबारे ब्लुमबर्ग टेलिभिजनले सेप्टेम्बर र अक्टोबरमा डेमोक्य्राटहरूलाई सहयोग गर्न ८ करोड डलर खर्च गर्ने योजना बनाएको जनाएको छ । एएफपीले भने अक्टोबर २१ सम्म उनले दिएको आधिकारिक चन्दा ५ करोड २६ लाख डलर रहेको उल्लेख गरेको छ ।
शीर्ष २० दातामध्ये १४ वटाले प्राय: पूर्ण रूपमा रिपब्लिकन उम्मेदवार वा उनीहरू सम्बद्ध बाह्य समूहलाई सहयोग गरेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीका संवाददाता लुक फाउन्टेनको दाबी छ । रिपब्लिकनहरू बाह्य खर्चमा अगाडि छन् । उदाहरणका लागि ट्रम्पको ‘मागा इंक सुपर प्याक’ ले मात्रै २७ करोड ५० लाख डलरभन्दा बढी खर्च गरिसकेको छ । तर व्यक्तिगत उम्मेदवारहरूले पाउने प्रत्यक्ष चन्दा संकलनमा भने डेमोक्य्राटहरू अगाडि छन् ।
प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका दाताले आफ्नो उद्योगमा सरकारी नियमन खुकुलो बनाउने र आफू अनुकूल नीति निर्माण गर्ने राजनीतिक उम्मेदवारलाई जिताउन भारी रकम चन्दा दिइरहेको यी सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफ्नो सम्पत्तिमाथि अतिरिक्त कर लाग्न नदिन र कर लगाउने नीतिहरू रोक्न कतिपय अर्बपतिहरूले आक्रामक रूपमा चुनावी अभियानमा खर्च गरिरहेको बताइन्छ ।
मस्कजस्ता अर्बपतिले स्पेसएक्स, टेस्लाजस्ता आफ्ना कम्पनी र सरकारी सम्झौतालाई संसदीय छानबिन वा नियमनबाट जोगाउन रिपब्लिकन उम्मेदवारलाई समर्थन गरिरहेको वार्यडको विश्लेषण छ ।
‘डेमोक्य्राटहरूले प्रतिनिधिसभामा जित हासिल गरे भने संसदीय समितिको नेतृत्व सम्हाल्ने दौडमा रहेका सांसदले सरकारी कार्यकुशलता विभाग (डज) मा मस्कको भूमिका, उनका कम्पनीले पाएका संघीय ठेक्का सम्झौता र क्यालिफोर्नियाकी डेमोक्य्राट सांसद जो लोफग्रेनले आश्चर्यजनक भनेर टिप्पणी गरेको स्वार्थको द्वन्द्वमाथि छानबिन हुने देखिन्छ,’ वार्यडले लेखेको छ, ‘संसद्मा डेमोक्य्राटहरूको पूर्ण नियन्त्रण कायम हुनु उनका लागि ठूलो समस्याको विषय बन्नेछ ।’
