रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको हो ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सात सदस्यीय टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका गाडीका पार्टपुर्जा फेला पारेको थियो ।
त्यस्तै सामान ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको यूपी ७८ डियू ४५५० नम्बरको कारसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरिक्षक गोपीकृष्ण भट्टराईले बताए । उक्त कारको अनुमानित मूल्य २५ लाख रुपैयाँ रहेको छ ।
बरामद गाडीका पार्टपुर्जा र ढुवानीमा प्रयोग भएको कारसहित कुल २७ लाख १८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो । बरामद सामान तथा कार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको र फरार कार चालकको खोजी जारी रहेको भट्टराईले बताए ।
