एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। निर्णायक खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै सकिएको हो। यससँगै एनपीएलको प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि दौडलाई निरन्तरता दिएका छन्।

यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने समूह चरणबाटै बाहिरिएका छन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा ओपनरद्वय डार्सी शर्ट र आसिफ शेखले समान ४५–४५ रनको योगदान दिए। अलि शेखले २७ रन बनाए भने सन्दीप जोराले अविजित २५ रन जोडे।जोराले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै लुम्बिनीको इनिङ्सलाई जिततर्फ अघि बढाए। अन्तिम समयमा रुवेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए।

विराटनगरका लागि अपराजित पौडेलले २ विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन बनाए। शुभम रन्जाने ३१ रनमा अविजित रहे। इमरान शेखले २४ रन बनाए पनि उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए। लोकेश बमले १५ रनको योगदान दिए।

लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले १–१ विकेट लिए। जित्नैपर्ने खेलमा पराजित भएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने लुम्बिनीले महत्वपूर्ण जितसँगै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *