मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा र नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस सरकार अल्पमतमा परेको हो।
सरकारबाट बाहिरिने निर्णय गरेको नेकपाका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन्। नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।
नेकपाका अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहर कुशवाहाले संयुक्तरूपमा राजीनामा बुझाएका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष ओलीसहितको बैठकबाट नयाँ सरकार गठनको संयुक्त प्रयास अनुरुप नेकपा एमाले र नेकपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। त्यसपछि चारैजना मन्त्रीले राजीनामा दिएका हुन्।
गत असोज ३० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। नेकपाले पनि समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा परेको छ।
