अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा थप नियमन हुन सक्ने आशंकाले विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ । विशेषगरी एआई प्रविधिमा लगानी गरेका प्रमुख कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट देखिएको छ ।
अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि एआई तथा डाटा सेन्टर विस्तारमा कडा नियम लागू हुन सक्ने आशंका बढेको हो । डाटा सेन्टरको अनियन्त्रित विस्तार रोक्ने विषयलाई डेमोक्र्याटिक नेताहरूले चुनावी अभियानमै प्राथमिकता दिएका थिए ।
अमेरिकामा बिहीबार भएको सेयर बिक्रीको प्रभाव प्रविधि क्षेत्रका कम्पनीहरूमा सबैभन्दा बढी देखियो । गुगलको मातृ कम्पनी अल्फाबेट, एनभिडिया, मेटा र एप्पलजस्ता ठूला कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो ।
सन् २०२२ को अन्त्यमा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि एआई प्रविधिप्रति विश्वव्यापी आकर्षण बढेको थियो । त्यसपछि कम्प्युटर चिप उत्पादन, नेटवर्किङ पूर्वाधार, डाटा सेन्टर निर्माण तथा एआई विकासमा लगानी गर्ने कम्पनीहरूमा ठूलो पुँजी प्रवाह हुन थालेको थियो ।
गोल्डम्यान स्याक्सको अनुसन्धानअनुसार सन् २०२६ मा मात्रै एआई क्षेत्रमा करिब एक ट्रिलियन अमेरिकी डलर लगानी हुने अनुमान गरिएको छ । तर पछिल्लो समय यस क्षेत्रमा भएको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ ।
त्यस्तै, एआई प्रविधिको सुरक्षा र मानव जीवनमा पर्न सक्ने सम्भावित जोखिमबारे अनुसन्धानकर्ताहरूले व्यक्त गरेका चिन्ताले पनि थप नियमनको बहसलाई बल पुर्याएको बिबिसिले जनाएको छ ।
डाटा सेन्टर विस्तारप्रति स्थानीयको असन्तुष्टि
डेमोक्र्याटिक नेताहरूले डाटा सेन्टर विस्तारले स्थानीय समुदायमा पार्ने प्रभावलाई चुनावी मुद्दा बनाएका थिए । यस्ता केन्द्रमा अत्यधिक पानी र विद्युत् खपत हुने, घरायसी विद्युत् महसुल बढ्ने, ध्वनि प्रदूषण हुने तथा जमिनको प्रयोगमा असर पर्ने विषयमा स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् ।
मे महिनामा सार्वजनिक ग्यालप सर्वेक्षणअनुसार ७१ प्रतिशत अमेरिकी नागरिकले आफ्नो समुदायमा डाटा सेन्टर निर्माणको विरोध गरेका थिए । आणविक ऊर्जा केन्द्र निर्माणको विरोध गर्नेको संख्या भने ५३ प्रतिशत थियो ।
टेक्सासमा सिनेट निर्वाचन जितेका डेमोक्र्याटिक नेता जेम्स टालारिकोले एआई क्षेत्रमा अमेरिकाको नेतृत्व कायम राख्दै यसको प्रभावलाई व्यवस्थित गर्न स्पष्ट कानुन आवश्यक रहेको बताएका छन् ।
टेक्सासकी नवनिर्वाचित डेमोक्र्याटिक गभर्नर जिना हिनोजोसाले पनि नयाँ डाटा सेन्टर निर्माणमा रोक लगाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
एआई कम्पनीको भविष्यबारे लगानीकर्तामा अन्योल
प्रविधि कम्पनीहरूको सेयर मूल्य भविष्यमा प्राप्त हुन सक्ने आम्दानीको अपेक्षाका आधारमा निर्धारण हुने भएकाले प्रतिफल घट्ने आशंकाले लगानीकर्ताले सेयर बिक्री गर्न थालेको विश्लेषण गरिएको छ ।
ब्रिटिस प्रविधि कम्पनी आर्म होल्डिङ्सका सहसंस्थापक ट्युडर ब्राउनका अनुसार एआई क्षेत्रमा असीमित वृद्धिको अपेक्षाले कम्पनीहरूको सेयर मूल्य वास्तविकताभन्दा बढी बढेको थियो । पछिल्लो गिरावटलाई उनले लगानीकर्तामा देखिएको त्रासको परिणामका रूपमा व्याख्या गरेका छन् ।
फ्युचर मार्केट इनसाइट्सकी नन्दिनी रोय चौधरीले राजनीतिक परिवर्तनले डाटा सेन्टर निर्माण, ऊर्जा खपत र एआई प्रविधिको प्रयोगमा प्रतिबन्ध ल्याउन सक्ने विषयमा लगानीकर्ताले मूल्यांकन गर्ने बताएकी छन् ।
उनका अनुसार प्रविधि कम्पनीका सेयरमा तत्काल व्यापक सुधार आउने सम्भावना कम छ । लगानीकर्ताले बलियो आर्थिक अवस्था भएका कम्पनीलाई प्राथमिकता दिन सक्नेछन् ।
विश्लेषकहरूका अनुसार पछिल्लो गिरावटले एआई क्षेत्रको लगानी उत्साहमा केही कमी ल्याए पनि यसले एआई उद्योगको भविष्य नै समाप्त भएको संकेत भने गर्दैन । अबको मुख्य प्रश्न एआईमा भइरहेको ठूलो लगानीले अपेक्षित आर्थिक प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने हो ।
