पूर्वी भारतको तटीय क्षेत्रमा एक साताभित्रै मङ्गलबार आएको दोस्रो चक्रवात ‘मुरासु’ ले भारी वर्षा गराउँदा जनजीवन प्रभावित भएको छ । यो चक्रवात आन्ध्र प्रदेशको प्रकामस जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा ठोक्किएको हो ।
चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा र अधिकतम झोका १२० किलोमिटर प्रतिघण्टासम्म रहेको छ । यही कारण आन्ध्र प्रदेश र तमिलनाडुका विभिन्न क्षेत्रमा भारी वर्षा भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
सम्भावित जोखिमलाई दृष्टिगत गरी आन्ध्र प्रदेश सरकारले तटीय क्षेत्रबाट ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ । प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएका छन् । रेल र केही हवाई उडान स्थगित गरिएका छन् । तीव्र हावाहुरीका कारण केही स्थानमा रुख र विद्युत्का पोल ढलेका छन् ।
भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात विस्तारै जमिनतर्फ अगाडि बढ्दै जाँदा कमजोर हुँदै जाने छ । यसको प्रभावका कारण आन्ध्र प्रदेश, तेलङ्गाना, दक्षिणी ओडिसा र छत्तिसगढमा आज बुधबारसम्म भारी वर्षा जारी रहने अनुमान छ । चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । भारतीय मौसम विभागका अनुसार तटीय क्षेत्रमा १.५ मिटरसम्म अग्लो समुद्री छाल उठ्न सक्ने सम्भावना छ ।
मुरासु चक्रवात बङ्गालको खाडीमा विकसित भएको हो । यस क्षेत्रको न्यानो समुद्री पानीले पूर्वी भारत, बङ्गलादेश र म्यान्मारमा प्रभाव पार्ने घातक चक्रवातलाई ऊर्जा प्रदान गर्दै आएको छ । यसअघि गत साता मात्रै आएको ‘अर्णव’ नामको शक्तिशाली चक्रवातले आन्ध्र प्रदेशमा छ जनाको ज्यान लिएको थियो र ठुलो मात्रामा बालीनाली नष्ट गरेको थियो ।
आठ जना बेपत्ता
भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा भारी हिमपात र खराब मौसमका कारण सात जना पदयात्री र एक जना पथप्रदर्शकसहित आठ जना छ दिनदेखि बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले हिजाे मङ्गलबार उनीहरू बेपत्ता भएको पुष्टि गरेका छन् । पदयात्री अक्टोबर २७ मा उत्तराखण्डको केदारताल क्षेत्रमा तीनदिने पदयात्राका लागि निस्किएका थिए । अक्टोबर २९ मा उक्त क्षेत्रमा भारी हिमपात भइरहेका बेला हिमपहिरो गएको थियो ।
