बेलायती राजपरिवारकी मेघनले खोलिन् बुबाविरुद्धको आरोपको रहस्य

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना बुबा थोमस मार्कलविरुद्ध सन् २०१८ मै ‘चिन्ताजनक आरोप’बारे जानकारी पाएको बताएकी छन्। उनले आफ्ना बुबासँगको सम्बन्धबाट टाढा रहनुको कारणसमेत खुलाएकी छन्।

मेघनका अनुसार सन् २०१८ मा थोमस मार्कलविरुद्धका आरोप समेटिएको एउटा पत्र लन्डनको मेट्रोपोलिटन प्रहरीमा पठाइएको थियो। पछि उक्त पत्रमा उल्लेखित विषयबारे उनलाई पनि जानकारी गराइएको थियो।

मेघनका बुबाको फिलिपिन्सस्थित पूर्वनिवासमा बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिरहरू फेला परेको दाबीसहितका समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो। थोमस मार्कलले भने त्यस्ता तस्बिर आफूसँग रहेको आरोप अस्वीकार गरेका छन्।

‘द सन’ पत्रिकाले पहिलोपटक सार्वजनिक गरेको आरोपबारे प्रतिक्रिया दिँदै मेघनले पछिल्लो २४ घण्टामा बाहिर आएका खबरले आफू अत्यन्तै दुःखी र स्तब्ध भएको बताएकी छन्। उनले कुनै पनि बालबालिका पीडित बनेका भए उनीहरूप्रति आफ्नो सहानुभूति रहेको उल्लेख गरेकी छन्।

मेघनले सन् २०१८ मा बुबाविरुद्धका आरोपबारे जानकारी दिने पत्र प्राप्त गर्दा ती विषयमा अनुसन्धान भइरहेको आश्वासन पाएको बताएकी छन्। उनले बुबासँग दूरी कायम गर्नु र आफ्ना छोराछोरीलाई उनीसँग सम्पर्क गर्न नदिनुको कारण पनि यसैसँग जोडिएको संकेत गरेकी छन्।

‘उनीहरूलाई सुरक्षित राख्न’ आफूले यस्तो निर्णय लिएको बताउँदै मेघनले अन्य परिवारका बालबालिकाको सुरक्षाका लागि पनि सम्बन्धित निकायले आवश्यक कदम चालिरहेको विश्वास गरेको उल्लेख गरेकी छन्। उनले बुबाविरुद्धका आरोपलाई कल्पना गर्न सकिनेभन्दा पनि घृणित भन्दै दोषी पाइए न्याय सुनिश्चित हुनुपर्ने र निर्दोष बालबालिकाको सुरक्षा नै प्राथमिकतामा रहनुपर्ने बताएकी छन्।

प्रहरी अनुसन्धानमा थोमस मार्कल
मेघनका सौतेनी दाजु थोमस मार्कल जुनियरले ‘द सन’सँग कुरा गर्दै फिलिपिन्सस्थित आफ्ना बुबाको घरमा बाल यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिर फेला पारेको दाबी गरेका छन्। उनले उक्त विषय प्रहरीलाई जानकारी गराएको पनि बताएका छन्।

फिलिपिन्सको न्याय मन्त्रालयका उपसचिव निकोलस टाइले बीबीसीलाई दिएको जानकारीअनुसार सेबुमा मानव बेचबिखन तथा बालबालिकाको यौन शोषणसम्बन्धी विषय हेर्ने विशेष कार्यदलले घटनाको अनुसन्धान गरिरहेको छ। त्यस्तै फिलिपिन्सका आन्तरिक मामिलामन्त्री जोनभिक रेमुल्लाले थोमस मार्कल सिनियरको कम्प्युटर राष्ट्रिय प्रहरीले नियन्त्रणमा लिएको र त्यसको विस्तृत डिजिटल फरेन्सिक परीक्षण भइरहेको बताएका छन्।

मन्त्रीका अनुसार अनुसन्धानकर्ताहरूले कम्प्युटरमा रहेका तथ्यांक विश्लेषण गरी कथित आपराधिक गतिविधिको प्रकृति र दायरा पत्ता लगाउने प्रयास गरिरहेका छन्। फरेन्सिक परीक्षणको नतिजा आउन करिब एक साता लाग्ने उनले बताएका छन्।

बीबीसीले यस विषयमा प्रतिक्रिया लिन थोमस मार्कल सिनियर र मेट्रोपोलिटन प्रहरीसँग सम्पर्क गरेको जनाएको छ। यद्यपि, थोमसले आफूमाथिका आरोप अस्वीकार गरेका छन्।

विवाहकै वर्षदेखि बिग्रिएको थियो सम्बन्ध
बुबाविरुद्धका आरोपले मेघनको जटिल पारिवारिक सम्बन्धलाई फेरि चर्चामा ल्याएको छ। सन् २०१८ मा बेलायती राजकुमार ह्यारीसँग विवाह गरेकी मेघनले विवाहपछि मात्रै बुबाविरुद्धका आरोपबारे जानकारी पाएको बुझिएको छ।

मेघन र उनका बुबाबीचको सम्बन्ध विवाह हुनुअघि नै बिग्रिएको थियो। थोमस मार्कलले विवाहको तयारी गरिरहेको अवस्थामा फोटोग्राफरसँग मिलेर पैसाको बदलामा विवाहको तयारीसम्बन्धी तस्बिर खिचाएको घटना सार्वजनिक भएको थियो। त्यसपछि उत्पन्न विवादका कारण उनले स्वास्थ्य समस्याको कारण देखाउँदै छोरीको विवाहमा सहभागी नहुने निर्णय गरेका थिए।

मेघनलाई विवाहमण्डपसम्म तत्कालीन प्रिन्स अफ वेल्स तथा हालका राजा चार्ल्स तृतीयले पुर्‍याएका थिए। मेघन आफ्नी आमा डोरिया र्‍यागल्यान्ड र थोमस मार्कलकी एक्ली सन्तान हुन्। तर, थोमसको अघिल्लो विवाहबाट सामन्था र थोमस मार्कल जुनियर गरी अन्य दुई सन्तान पनि छन्।

सन् २०२० को जनवरीमा वरिष्ठ राजपरिवारका सदस्यका रूपमा आफ्नो जिम्मेवारीबाट पछि हटेपछि ह्यारी र मेघन आफ्ना दुई सन्तानसहित अमेरिकामा बस्न थालेका थिए। उनीहरूले त्यसपछि औपचारिक राजकीय जिम्मेवारी निर्वाह गर्न छाडेका थिए।

सन् २०२५ मा पटकपटक मस्तिष्कघात भएपछि थोमस मार्कल फिलिपिन्स सरेका थिए। सन् २०२५ डिसेम्बरमा शल्यक्रियाका क्रममा उनको एउटा खुट्टा काट्नुपरेको बताइएको छ। त्यसपछि उनी अमेरिकाको फ्लोरिडास्थित पुनःस्थापना केन्द्रमा रहेर पुनः हिँड्न सिकिरहेको समाचारमा उल्लेख छ।

शल्यक्रियापछि फिलिपिन्सको अस्पतालमा रहेका बेला मेघनले बुबालाई पत्र पठाएकी थिइन्। बुबाविरुद्धका आरोप र अनुसन्धानले ह्यारी तथा मेघनले सन् २०२६ को अगस्टमा बेलायत फर्किने निर्णयमा कुनै भूमिका खेलेको थियो वा थिएन भन्नेबारे उनीहरूका प्रतिनिधिले प्रतिक्रिया दिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *