रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न प्रस्ताव गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ ले जानकार स्रोतहरुलाई उद्धृत गर्दै आइतबार यस्तो खुलासा गरेको हो । तर अहिलेसम्म दुबै देशका कुनै पनि अधिकारीले यस विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन् ।
स्रोतका अनुसार आगामी एशिया-प्यासेफिक आर्थिक सहकार्य सम्मेलन (एपेक) को साइडलाइनमा यो त्रिपक्षीय छलफल आयोजना गर्न रुसले प्रस्ताव गरेको छ । उक्त सम्मेलन नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा आयोजना हुँदैछ ।
यो प्रस्तावित शिखर सम्मेलन ट्रम्प र पुटिनबीच बढ्दो राजनीतिक तथा कूटनीतिक निकटताबीच आएको हो । केही समयअघि मात्रै ट्रम्पले रुसबाट डिजेल खरिद गर्ने सम्झौताको घोषणा गरेका थिए । त्यस्तै रुसविरुद्ध लगाइएका मुख्य प्रतिबन्धहरू फुकुवा गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका थिए ।
यस्ता कदमले युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमिका खेल्ने दाबी ट्रम्पले गर्दै आएका छन् । रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले ‘वाल स्ट्रिट जर्नल’ सँग कुरा गर्दै सम्भावित भेटवार्ताका विषयमा छलफल भइरहेको बताएका छन् ।
तर पछिल्लो प्रस्ताव र कुनै सहमतिका विषयमा भने कुनै टिप्पणी गरेनन् । ‘बैठक र यसको सम्भावित एजेन्डाका बारेमा अहिलेसम्म कुनै स्पष्ट सहमति बनिसकेको छैन, यद्यपि तीनै पक्षले यस्तो बैठक हुनसक्ने सैद्धान्तिक सम्भावनालाई भने स्वीकार गरेका छन्,’ उनले भने ।
यता, एक वरिष्ठ अमेरिकी अधिकारीले वाल स्ट्रिट जर्नललाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अहिलेसम्म यस्तो शिखर सम्मेलनका लागि औपचारिक सहमति नजनाएको दाबी गरे । तर प्रस्तावप्रति ट्रम्प सकारातम्क हुनसक्ने उनले बताए ।
