सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको गएराती सकुशल उद्धार गरिएको छ ।
पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ (कठीन प्रकारको उद्धार) तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरीले ‘रोप’ को माध्यमबाट उद्धार गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले जानकारी दिए ।
सुरक्षाकर्मी टावरमा चढेर युवतीलाई क्याराबिना र हार्नेस (सुरक्षा बेल्ट उपकरण) को सहायताले बाँधेर तल झारिएको सशस्त्र प्रहरीका एसपी खत्रीले बताए । युवती हाइटेन्सन लाइनको टावरमा चढेको सूचना पाएपछि सशस्त्र प्रहरीका एसपी खत्री र सर्लाहीस्थित नेपाली सेनाको कालीध्वज गणका गणपति (कर्णेल) उमेश खड्का आफै उद्धारस्थलमा पुगेका थिए ।
उद्धार गरिएको किशोरीलाई परिवारको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले परिवारका अनुसार युवतीको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ । युवती हाइटेन्सन लाइनको टावरमा चढेको जानकारी प्राप्त हुनासाथ तत्कालै विद्युत काटिएकाले अप्रिय घटना भने टरेको थियाे ।
