केहीदिनयता फ्रान्समा सुरु भएको आन्दोलन र हिंसात्मक दंगापछि स्थिति नियन्त्रणमा लिन सरकारले राजधानी पेरिससहित विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार बिहानसम्म रातभर शान्ति कायम राख्न ‘लक्षित कर्फ्यु’ ले सहयोग गरेको बताएका छन् । स्थानीय अधिकारीहरूले थप एक रात पनि यस्तै प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेबारे विचार गरिरहेको उनले बताए ।
सीएनएनलेफ्रान्समा जारी तनावलाई केही वर्षयताकै सबैभन्दा हिंसात्मक दंगा भनेर टिप्पणी गरेको छ । सरकारले पर्यटकहरूको बाक्लो चहलपहल हुने क्षेत्रदेखि अन्य ससाना सहर र नगर क्षेत्रमा कतै कर्फ्यु त कतै अस्थायी रूपमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले भीडमाथि अश्रुग्यास प्रहार गरेको छ । कालो कपडा लगाएका र मुख छोपेका दंगाकारीहरूसँग प्रहरीको ठाउँठाउँमा झडप भएको छ । आन्दोलन हिंसात्मक बन्दै जाँदा हजारौँ पसल र सरकारी भवनमा तोडफोड भएको छ भने ऐतिहासिक महत्त्वका कैयौँ भवनसमेत निशाना बनेका छन् ।
सीएनएनका अनुसार फ्रान्सले हिंसाबाट भएको क्षतिको आकलन गर्न थालेसँगै सरकारले संकटको गम्भीरता र यसको सम्भावित विस्तारबारे पर्याप्त पूर्वानुमान गर्न नसकेको आरोप बढिरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको उत्तराधिकारी चयन गर्न अब केवल छ महिना बाँकी रहँदा यस घटनाले प्रमुख राजनीतिक दलहरूबीचको मतभेद थप गहिरो बनाउन सक्ने आकलन गरिएको छ ।
अलजजिराले देशव्यापी प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आइतबार राति शिक्षा प्रणालीमा परिवर्तनको माग गरिरहेका विद्यार्थीका चिन्तालाई सम्बोधन गर्ने र दंगाकारीहरूको आलोचना गर्नेबीच सन्तुलन मिलाउने प्रयास गरेको उल्लेख गरेको छ । राष्ट्रपति म्याक्रोंको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘सम्पत्ति नष्ट गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्छ । लुटपाट गर्नेहरूले पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । गणतन्त्रलाई ढाल्न खोज्नेहरूलाई जवाफदेही बनाइनेछ ।’
यो तनावको पृष्ठभूमि आखिर के हो त ?
गएको सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोगजस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर, सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रूपमा फैलियो । १० दिनभित्रै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । विभिन्न समूहले भीडभाडयुक्त कक्षा, शिक्षक अभाव, अपर्याप्त भौतिक पूर्वाधार र अरू थुप्रै गुनासा सम्बोधन गर्न माग राख्न थाले । विद्यार्थी संगठन र अभिभावकहरूको समर्थनसँगै यो प्रदर्शन एउटा आन्दोलनमा रूपान्तरण भयो ।
त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । त्यसमा २ सय १५ युवा, ८५ शिक्षक–कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भएका थिए । – एजेन्सीहरुको सहयोगमा ।
