अल्बर्टामा जनमतसंग्रह : प्रारम्भिक नतिजाअनुसार अधिकांश जनता विभाजनको विपक्षमा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तेलको धनी मानिने क्यानडाको अल्बर्टा प्रान्तका मतदाताहरूले देशको अखण्डताको पक्षमा ठूलो जनमत प्रकट गरेका छन् ।सोमबार सम्पन्‍न निर्वाचनको प्रारम्भिक नतिजाअनुसार उनीहरुले क्यानडाबाट छुट्टिने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकृत गरेको देखिन्छ ।

प्रारम्भिक जनमत संग्रहको नतिजाले प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको अभियानलाई ठूलै बल पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीहरूबीच आएको यो नतिजालाई क्यानडाको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

निर्वाचन अधिकारीहरूका अनुसार १५ लाखभन्दा बढी मत गणना हुँदा ७६ प्रतिशत मतदाताले क्यानडामै रहनुपर्ने पक्षमा मतदान गरेका छन् ।

करिब २४ प्रतिशतले मात्रै अलग हुने प्रक्रियाको पक्षमा समर्थन जनाएका छन् ।यो जनमत संग्रह सीधै देशको विभाजन वा अल्बर्टाको पूर्ण स्वतन्त्रतासम्बन्धी अन्तिम मतदान भने थिएन । यदि प्रस्ताव पारित भएको भए यसले अल्बर्टालाई क्यानडाबाट अलग हुने प्रक्रियातर्फ लैजाने थियो ।

। ‘अल्बर्टाले क्यानडालाई रोज्यो’ जनमत संग्रहको प्रारम्भिक नतिजा आएलगत्तै  प्रधानमन्त्री मार्क कार्नीले भने, ‘अल्बर्टाका जनताको रोजाइ स्पष्ट देखिन्छ । उनीहरूले एकता र सहकार्यको बाटो चुनेका छन् । अल्बर्टाले क्यानडालाई रोजेको छ ।’

उनले यस नतिजाले सबै क्यानडियनहरूलाई अझ बलियो बनाएको बताए । व्यापार प्रवद्र्धन, ठूला पूर्वाधार विकास र अल्बर्टालाई केन्द्रमा राखेर क्यानडालाई विश्वव्यापी ऊर्जा महाशक्तिका रूपमा स्थापित गर्ने प्रयास तीव्र पारिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

अल्बर्टाकी प्रिमियर ड्यानी स्मिथले पनि प्रारम्भिक नतिजाको स्वागत गरेकी छिन् । ‘अल्बर्टावासीहरूले एकिकृत क्यानडामा विश्वास देखाएका छन्,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छिन् ।

अल्बर्टाका पृथकतावादी समूहहरूले क्यानडाले आफ्नो प्रान्तमाथि न्यायोचित व्यवहार नगरेको प्रतिक्रिया दिएका छन् । ‘अझै पूर्ण नतिजा आइसकेको छैन, तर कम्तीमा पनि एक चौथाइ अल्बर्टावासीहरूलाई उनीहरूसँग न्यायोचित व्यवहार भएको छैन भन्ने महसुस  भएको रहेछ । नतिजाले यही प्रस्ट पार्छ,’ पृथकतावादी आन्दोलनका नेता किथ विल्सनले भने ।

अल्बर्टा प्रान्त विश्वको चौथो ठूलो तेलको भण्डार हो । यहाँ यसअघि दक्षिणपन्थी पार्टीहरुको लोकप्रियता थियो । यस प्रान्तका मानिसहरुको संस्कृति र परम्परा क्यानडाका अन्य प्रान्तभन्दा पनि अमेरिकाका पश्चिमी प्रान्तसँग धेरै मिल्छ ।

यद्यपी, यहाँ पृथकतावादी सोच राख्नेहरुले पनि विगतका आन्दोलनमा राम्रो नतिजा ल्याउन सकेका थिएनन् । पूर्व प्रिमियर जासन केन्नीका अनुसार विगतका निर्वाचनहरुमा पृथकवादी शक्तिहरुले १ देखि २ प्रतिशत मतमात्रै ल्याउने गरेको थियो ।

तर, कोभिड १९ लकडाउनका दौरान लगाइएका बन्देजहरुले यहाँका जनता आक्रोशित भएको र पृथकतावादी लहर सुरु भएको उनले बताए । पृथकतावादी नेताहरुले तत्कालका लागि स्वतन्त्रताका पक्षमा पर्याप्त मत नआएपनि आफ्ना मुद्दा र आन्दोलन बलियो बन्दै गएको प्रतिक्रिया दिएका छन् ।

एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *