सप्तरीमा हात्ती मारेर गाडेको अवस्थामा फेला

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा हात्तीलाई मारेर गाडेको अवस्थामा फेला पारिएको छ । कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धान खेतमा हात्तीलाई खाल्डो खनेर गाडेको अवस्थामा फेला पारिएको हो ।

नियमित गस्तीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीलाई गाडिएको अवस्थामा फेला पारेको हो ।डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा फेला पारिएको हो ।

“हात्तीलाई खाल्डोमा पुरेर माथिबाट पराल हालेको देखियो,” प्रमुख ठाकुरले भने , “गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोस्टमार्टम भइरहेको छ ।” कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले मृत हात्तीको पोस्टमार्टम गरिरहेको जनाएको छ । हात्तीलाई दुईदेखि तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशङ्का गरिएको ठाकुरले जानकारी दिए  ।

हात्तीको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएकोसमेत कार्यालयले जनाएको छ ।

पोस्टमार्टम प्रक्रिया पूरा भएपछि मृत हात्तीलाई पुनः खाल्डोमा गाडिने जनाइएको छ । हात्तीको मृत्यु कसरी भयो र घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धान पछि खुल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *