गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको कारण जोखिममा परेका एक हजार ४४ जनालाई चार दिनभित्रमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ । असोज २५ गतेदेखि २८ गते साँझसम्म गरिएको उद्धारको क्रममा ९७४ जना नेपाली र ७० जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।
उनका अनुसार असोज २५ गते ८७ नेपाली र नौ विदेशी गरी ९६ जनाको उद्धार गरिएको थियो । त्यस्तै, असोज २६ गते ३०९ जना नेपाली र १२ विदेशी गरी ३२१ जनालाई उद्धार गरिएको थियो । असोज २७ गते १५८ नेपाली र २८ विदेशी गरी १८६ जना र २८ गते बुधबारका दिन ४३४ नेपाली र सात जना विदेशीलाई नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको छ ।
बाढीका कारण उत्तरी गोरखाको जनजीवन प्रभावित बनेपछि जोखिममा रहेका स्थानीय बासिन्दा तथा पदयात्रामा आएका विदेशी पर्यटकलाई प्राथामिकतामा राखेर उद्धार गरिएको हो । मनास्लु क्षेत्रमा विभिन्न स्थानमा बाढी पहिरोले सडक, पुल तथा आवतजावतका मार्गमा क्षति पुर्याउँदा पैदल यात्रा र नियमित आवागमनमा समेत कठिनाइ उत्पन्न भएको थियो ।
विशेषगरी बुढीगण्डकी नदी र आसपासका खोलामा आएको बाढीले नदी किनारका बस्ती तथा पूर्वाधारमा क्षति पु–याएपछि सुरक्षित स्थानमा पुग्न नसकेका नागरिकलाई हेलिकप्टर उद्धार महत्वपूवर्ण माध्यम बनेको थियो ।
चार दिनको अवधिमा उद्धार गरिएका व्यक्तिमध्ये विदेशी नागरिकको सङ्ख्या ७० रहेको छ । यसले मनास्लु क्षेत्रमा बाढीपहिरोले स्थानीय बासिन्दासँगै पदयात्राका लागि पुगेका सिमित विदेशी पर्यटकसमेत प्रभावित भएका छन् भने फर्कने चाहने पर्यटकलाई फर्कनको लागि समन्वय भइरहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का कार्यालय प्रमुख अनिल प्रसाईको भनाइ छ ।
प्राकृतिक विपदका कारण दुर्गम क्षेत्रमा फसेका नागरिकहरुलाई सुरक्षित स्थानमा पुर्याउन हेलिकप्टर उद्धार प्रभावकारी बनेको छ । यद्यपी विपद्पछि प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन क्षतिग्रस्त संरचनाको मर्मत, आवगमन पुनः स्थापना र जोखिममा रहेका बस्तीको सुरक्षामा समेत ध्यान दिदै सबै संयन्त्र प्रयोग गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको भनाइ छ ।
