ढोरपाटनका नगर प्रमुखलाई आठवर्ष जेलसजाय

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीलाई आठ वर्ष कैद सजाय भएको छ । दुई वर्षदेखि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई जिल्ला अदालत कास्कीले आठ वर्ष कैद र एक करोड २६ लाख जरिवाना हुने फैसला गरेको हो ।

न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले कास्कीमा रहेको इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिनामा नेपालीको संलग्नता ठहर गर्दै यस्तो सजाय गरेको हो । नेपालीले कास्की र बागलुङमा एउटै नाम इमेज राखेर सहकारी स्थापना गरेका थिए  ।

अदालतले कात्तिक ९ गते कसुर ठहर गरी कात्तिक १७ गते नेपालीसहितका प्रतिवादीको सजाय निर्धारण गरेको थियो । फैसलाको पूर्ण पाठ आउन भने बाँकी छ । अदालतले इमेजका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र सञ्चालकहरु निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद हुने फैसला गरेको छ । जरिवाना भने सबैलाई समान एक करोड २६ लाख तोकिएको छ ।

जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलले एक सय १० बचतकर्ताको जाहेरीमा अहिले फैसला आएको बताए  । सो मुद्दामा सहकारीका करिब चार सय सेयर सदस्यसँग भने मिलापत्र भएको थियो । मिलापत्र हुन नसकेका बचतकर्ताले पूरक अभियोगका रूपमा जाहेरी दिएका थिए ।

सहकारीमा समस्या आएपछि फरार बनेका  नेपालीलाई रेड कर्नर नोटिस  २०८१ असोज ११ गते जारी गर्दै पक्राउ गरिएको थियो । कास्कीकै सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा पनि नेपाली प्रतिवादी छन् । सूर्यदर्शनका पूर्व उपाध्यक्षसमेत रहेका नेपालीविरुद्ध यो मुद्दामा एक करोड ५४ लाख ४९ हजार ८३९ रुपियाँ बिगो मागदाबी लिइएकोछ ।  मुद्दा अहिले विचाराधीन छ ।

२०७४ अघि नेपाली नेकपा माओवादीमा आवद्ध नेपाली नगर प्रमुखको टिकट नपाएपछि एमाले प्रवेश गरी टिकट लिई निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि एमालेबाटै नगर प्रमुख बनेका उनि  सहकारी ठगी प्रकरण चर्किएपछि उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक दिएर सम्पर्कविहीन बनेका थिए ।

बागलुङको इमेज बचत तथा ऋण सहकारीमा नेपालीले करिब दुई अर्ब अपचलन गरेको अभियोग छ । उनि विरुद्ध एक अर्ब ५८ करोड बिगो मागदावी सहित २०८२ भदौ २३ गते सम्पत्ति शुद्धिकरणमा मुद्दासमेत दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *