नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आज  बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। घाइतेहरूलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

यसैगरी, गए  राति विनयी त्रिवेणी गाउँपालिका–२, विनयी खोला पुलनजिकै हाइलक्स गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। एकै परिवारका अन्य तीन जना घाइते भएका छन्। काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०१–००३० च ८१६७ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ की ३६ वर्षीया दिपिका तिमिल्सिनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा गाडी चालकसमेत रहेका मृतकका श्रीमान् ३७ वर्षीय गणेश तिमिल्सिना घाइते भएका छन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ। दुर्घटनामा घाइते भएका उनीहरूकी १५ वर्षीया छोरी प्रपेशा तिमिल्सिना र १२ वर्षीय छोरा रयास तिमिल्सिनाको अवस्था मध्यम रहेको र उनीहरूको डण्डामै उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *