बिरगन्ज छपकैयामा रहेको सामा मुरादावादी एन्ड हैदरावादी बिर्यानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त बिर्यानी हाउसमा मंगलबार ग्राहकले खाँदै गरेको बिर्यानीको मासुमै मरेको साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो।
बिर्यानीमै मेरेको साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि आज बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले उक्त बिर्यानी हाउसमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उक्त बिर्यानी हाउसकै भान्सा तथा परिसरमा सरसफाइमा लापरबाही गरिएको, दहीमा किरा र मासु सडेको फेला परेपछि खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै उक्त बिर्यानी हाउसका सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ थापाले जानकारी दिए।
आर्थिक जरिवाना गर्नुका साथै तत्काल सरसफाइमा सुधार गर्न तथा खाद्य सामग्रीहरूलाई धुलो, धुवाँ र किरा फट्याङ्ग्राबाट सुरक्षित राख्न निर्देशन दिँदै आवश्यक कागजपत्रका साथ ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सञ्चालकलाई निर्देशन पनि दिइएको थापाले बताए।
