यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीय लगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।
प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए । सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो ।
“प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो”, उनले भने, “यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।” साेही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो ।साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ ।
गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताए । गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ । त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ ।
