पोल्यान्डको क्राको गोलीकाण्डमा घाइते प्रहरीको ज्यान जोगाए दुई चिकित्सकले

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पोल्यान्डको क्राको सहरमा भएको सामूहिक गोलीकाण्डका क्रममा घाइते प्रहरी अधिकारीको ज्यान दुई चिकित्सकले जोगाएका छन् । घटनास्थल नजिकै परिवारसँग खाना खाइरहेका दुई चिकित्सक गोली चलेको आवाज सुन्नासाथ उद्धारमा खटिएका थिए ।

प्राध्यापक मिचल पेन्ड्जिवात्र र डा. मातेउज विएर्दाक घटनास्थल पुग्दा गोली लागेर प्रहरी अधिकारीसहित अन्य व्यक्ति घाइते भएका थिए । उनीहरूले आक्रमणकारी भनिएका व्यक्ति र प्रहरी अधिकारीसहित अन्य घाइतेको उपचार सुरु गरेका थिए ।

गोली लागेर छातीमा गम्भीर चोट लागेका प्रहरी अधिकारीको उपचारमा डा. विएर्दाक खटिएका थिए । उनले घाउबाट भइरहेको रक्तस्राव रोक्न तत्काल प्राथमिक उपचार गरेका थिए । एम्बुलेन्स आउन ढिलाइ भएकाले उनको तत्कालको उपचारले प्रहरी अधिकारीको ज्यान जोगाउन निर्णायक भूमिका खेलेको प्राध्यापक पेन्ड्जिवात्रले बताएका छन् ।

‘जीवन बचाउने कुरा आउँदा को को हो भन्नेले कुनै फरक पार्दैन’, पेन्ड्जिवात्रले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् ।उनका अनुसार घाइते प्रहरीलाई थप उपचारका लागि उपयुक्त अस्पताल पुर्‍याउन पनि आफूले पहल गरेका थिए ।

गत शनिबार क्राकोको बजार क्षेत्रमा भएको गोलीकाण्डमा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइते हुनेमा दुई प्रहरी अधिकारी पनि रहेका बिबिसिले जनाएको छ ।

घटनासँग सम्बन्धित आरोपित बन्दुकधारीको अपार्टमेन्टबाट उनका आमाबुवा र बहिनीको शवसमेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे पोल्यान्डको राष्ट्रिय अभियोजन कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

यसैबीच, घटनास्थल नजिकै रहेका आयरल्यान्डको डब्लिन सिभिल डिफेन्सका छ जना स्वयंसेवकले पनि घाइतेको उद्धारमा सहयोग गरेका थिए । उनीहरूले घाइतेलाई सीपीआर दिनुका साथै रक्तस्राव नियन्त्रणमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *