नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भएको पहिलाे दिन आज कागतिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको सम्मान गर्दै पूजा गर्ने र मिठा परिकार खान दिने परम्परा छ । कागतिहारका दिन कागलाई खान नदिई आफूले खानु राम्रो मानिँदैन ।
त्यसैले बिहानको पहिलो खाना वा प्रसाद कागका लागि घरको अग्लो ठाउँ, पर्खाल वा छतमा राखेर कागलाई बोलाइन्छ र अर्पण गरिन्छ । धार्मिक विश्वास अनुसार कागलाई मृत्युका देवता यमराजको दूत वा सन्देशवाहक मानिन्छ । कागले पृथ्वीलोकमा भएका राम्रा नराम्रा घटनाहरूको जानकारी यमराजसम्म पुर्याउने जनश्रुति छ ।
