राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै सातवटा विषयगत उपसमिति गठन गरेको छ। पार्टीको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसहित उपसमिति गठन गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन समिति सदस्यहरूकै संयोजकत्वमा सातवटा उपसमिति बनाइएको पार्टीले जनाएको छ।
गठित उपसमितिअन्तर्गत क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी तथा समावेशिता र महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्कीलाई तोकिएको छ।
यसैगरी, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन्। यी उपसमितिहरूले उम्मेदवार छनोटसम्बन्धी रूपरेखाको कार्यान्वयन तथा समन्वयका विभिन्न पक्षमा काम गर्नेछन्।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि आवेदनसमेत खुला गर्ने निर्णय गरेको छ। इच्छुक व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आफ्नो आवेदन दिन सक्नेछन्। यससँगै रास्वपाले महानगर र उपमहानगरका वडा तहमा उम्मेदवार बन्न चाहने आकांक्षीलाई पार्टीको छनोट प्रक्रियामा सहभागी हुने बाटो खुला गरेको छ।
रास्वपाले यसअघि नै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको थियो। महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा विभिन्न केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई समेटिएको थियो। पार्टीले स्थानीय तहसम्म पुगेर नागरिक तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गर्ने अभियानसमेत सञ्चालन गरेको थियो। क्यान्डिडेट क्लबमार्फत उम्मेदवारका आकांक्षीको आवेदन संकलन गर्ने र छनोटसम्बन्धी प्रक्रिया अघि बढाउने रास्वपाको तयारी छ। यसअघि पार्टीले स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई लक्षित गर्दै क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको थियो। कान्तिपुर
.रास्वपाले स्थानीय निर्वाचनको तयारीलाई संगठनात्मक र प्रक्रियागत रूपमा अघि बढाएको देखिएको छ। सातवटा उपसमिति गठन र महानगर तथा उपमहानगरका वडा तहमा आवेदन खुला गर्ने निर्णयलाई पार्टीले उम्मेदवार छनोट प्रक्रियाको थप चरणका रूपमा अघि बढाएको छ।
