कागजमै सीमित चक्रपथ : बर्सौं बित्दा पनि काम अधुरै

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मुलुकका विभिन्न सहर तथा पालिकामा घोषणा गरिएका चक्रपथ (रिङरोड) आयोजनाको भौतिक प्रगति एकदमै न्यून र निराशाजनक देखिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रको आर्थिक र सहरी विकासका लागि महत्वाकाङ्क्षी योजनाका रूपमा अगाडि सारेका चक्रपथ आयोजना बर्सौंदेखि अलपत्र वा सुस्त गतिमा छन् ।

सङ्घीयता कार्यान्वयनमा आएसँगै देशका विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित गर्न र यातायात पहुँच बढाउन ‘चक्रपथ’ निर्माणलाई गौरवको आयोजनाका रूपमा घोषणा गरे तर घोषणा भएको लामो समय बितिसक्दा पनि धेरैजसो पालिकामा चक्रपथको प्रगति भने निकै दयनीय छ । योजना सुरु भएको बर्सौं बित्दा कतिपय स्थानमा काम सुरु गरिए पनि प्रायः स्थानमा काम अगाडि बढ्न सकेको छैन ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, पोखरा महानगरपालिका, जनकपुरधाम  उपमहानगरपालिका, लमजुङको राइनास नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालगायतका पालिकाहरूमा चक्रपथ निर्माण तथा विस्तारका सानाठुला आयोजना सञ्चालनमा छन् ।

थाक पाँच गाउँ चक्रपथ

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथको काम ६० प्रतिशत सम्पन्न भएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले प्रदेश सरकारको आर्थिक सहयोगमा छ वर्षदेखि निर्माण भइरहेको यो चक्रपथ आर्थिक अभावमा अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए  । उनले भने, “प्रस्तावित चक्रपथको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ तर पूरै खण्डमा कालोपत्रे हुन सकेको छैन । कालोपत्रे सम्पन्न नभए पनि गाडी घुम्ने भइसकेको छ ।” गाउँपालिकाको पाँच वटै वडालाई जोड्ने गरी यस चक्रपथको निर्माण २४ करोड ५० लाख रुपियाँको लागतमा भइरहेको छ ।

विराटनगर चक्रपथ

विराटनगरमा प्रस्तावित बाहिरी चक्रपथ योजना सुरु भएको ३० वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै अलपत्र र अधुरो अवस्थामा छ । २०५४ सालमा सुरु भएको यो ४३ किलोमिटर लामो चक्रपथ आयोजनाको अहिलेसम्म पूरै खण्डको ट्र्याकसमेत खुल्न सकेको छैन । विराटनगर महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष जितन थापाले अहिलेसम्म चक्रपथको काम सुरु नै नभएको बताए  । उनले भने , “अहिलेसम्म प्रस्तावित  चक्रपथको काम शून्य छ । ‘एलाइनमेन्ट’ निर्धारण, जग्गा अधिग्रहणलगायतका कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।”

पोखरा चक्रपथ

पोखरामा प्रस्तावित चक्रपथ (रिङरोड) निर्माणको वर्तमान अवस्था अझै पनि प्रारम्भिक योजना, खाका परिवर्तन र बजेट व्यवस्थापनकै अलमलमा सीमित छ । पोखरामा रहेका ताललाई जोड्ने गरी यो परियोजना अगाडि बढाइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोजन पौडेलले पोखरामा रहेका नौ वटा ताललाई जोड्ने गरी अगाडि बढाइएको यो परियोजनाको अहिले विभिन्न अध्ययन भइरहेको जानकारी दिदै  एसियाली विकास बैङ्कको सहयोगमा अगाडि बढाइएको यो परियोजनाको अहिलेसम्म कुनै भौतिक काम सुरु हुन नसकेको स्पष्ट पारे  ।

उनले भने , “अहिले यस परियोजनाको गुरुयोजना बनाएर काम अगाडि बढाउने काम भइरहेको छ । अहिले कागजी र प्राविधिक काम भइरहेका छन् ।” उहाँले यस परियोजनामार्फत यहाँका तालबिच ‘इन्टर कनेक्टिभिटी’ गर्ने, यहाँका यातायातको व्यवस्थापन गर्ने, वातावरणमैत्री बनाउन ताललाई साइकल लेनबाट समेट्ने योजना रहेको जानकारी दिए  ।

जनकपुरधाम बाहिरी चक्रपथ

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सवारी चाप व्यवस्थापनका लागि ३२ किलोमिटर लामो बाह्य चक्रपथ निर्माणको अवधारणा आएको एक दशक बितिसक्दा पनि काम अगाडि बढ्न सकेको छैन । अहिलेसम्म प्रस्तावित चक्रपथको रेखाङ्कनको कामसमेत हुन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले बाहिरी चक्रपथको अवधारणा ल्याइएको एक दशक बितिसक्दा पनि अहिलेसम्म यससम्बन्धी कुनै पनि काम हुन नसकेको जानकारी दिदै  २०८० सालमा  चक्रपथ आयोजना अगाडि बढाउन सङ्घीय कार्यक्रममा पार्ने र बजेट छुट्याउन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिए पनि अहिलेसम्म कार्यक्रममा पर्न नसकेको बताए  ।

राइनास चक्रपथ

यसै गरी लमजुङको राइनास नगरपालिकामा निर्माण भइरहेको चक्रपथको काम अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन । नगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष गोविन्द चिलुवालले चार वर्षदेखि निर्माण सुरु भएको चक्रपथको काम आवश्यक बजेटको अभावमा अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए  ।

उनले भने , “विभिन्न खण्डमा ठेक्का लागेर निर्माणको काम बिस्तारै बिस्तारै भइरहेको छ तर सोचे जस्तो काम अगाडि बढ्न सकेको छैन । अहिलेसम्म कालोपत्रे सुरु हुन सकेको छैन । करिब ११ किलोमिटर लम्बाइ रहेको सो चक्रपथको तीन वटा खण्डमा निर्माण सम्झौता भई काम सुरु भएको हो ।”

वीरेन्द्रनगर चक्रपथ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा निर्माणाधीन चक्रपथको काम पनि विभिन्न प्राविधिक र जग्गा विवादका कारण सोचे जस्तो अगाडि बढ्न सकेको छैन । आठ वर्षअघि अवधारणा ल्याई काम सुरु भएको यस चक्रपथको काम अहिले देशी विदेशी विभिन्न निकायको आर्थिक सहयोगमा विभिन्न चरणमा भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले कुल २१ किलोमिटर लम्बाइ रहेको यो चक्रपथको काम अहिले सङ्घीय सरकार, प्रदेश सरकार, विश्व बैङ्कको आर्थिक सहयोगमा विभिन्न चरणमा ठेक्का लगाई भइरहेको जानकारी दिदै भनिन  अहिले नगरपालिकाको वडा नं १ र ११ लाई जोड्ने सडकखण्डको ठेक्का लगाउने तयारी भइरहेको जानकारी गराइन  ।

सङ्घीय चक्रपथ पनि उस्तै

काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई सहजीकरण गर्न करिब ७२ किलोमिटर लामो बाहिरी चक्रपथ (आउटर रिङरोड) को अवधारणा ल्याइएको दुई दशक नाघिसकेको छ । कुल एक खर्ब ८३ अर्बभन्दा बढी लागत अनुमान गरिएको यो आयोजना अझै पनि पूर्ण रूपमा जग्गा अधिग्रहण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कै विवादमा अल्झिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण र स्थानीय तहबिच समन्वय नहुँदा यो आयोजना कागजमै सीमित हुन पुगेको छ । उपत्यकाका तीन वटै जिल्लाका साबिक र हालका पालिकाहरूलाई जोड्ने गरी यस चक्रपथको प्रस्ताव गरिएको थियो । यसले काठमाडौँमा ३५.८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी क्षेत्रफल ओगट्छ ।

त्यसै गरी नेपालकै जेठो र व्यस्त काठमाडौँ चक्रपथ (२७ किमी) लाई चिनियाँ सहयोगमा आठ लेनमा विस्तार गर्ने काम भइरहेको छ । कोटेश्वर–कलङ्की खण्ड (पहिलो चरण) सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गत पर्ने कलङ्की–वसुन्धरा–महाराजगन्ज खण्ड (८.२ किमी) को विस्तार कार्य लामो समयदेखि अलमलमा परेको छ । सरकारले रुख कटान र पोल सार्ने कार्य गरे पनि स्वयम्भू क्षेत्रको सांस्कृतिक संरचना र महाराजगन्जको मुआब्जा विवादका कारण निर्माण कार्य कछुवा गतिमा छ तर सडक विभाग र चिनियाँ टोलीले यसको दोस्रो चरणको कामलाई पुनः गति दिने प्रयास गरिरहेका छन् ।

साभारः गाेरखापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *