सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाधन रोकेर पहिरो खस्ने अवस्था हेर्ने र जोखिम मोलेर पार गर्ने चालकको दैनिकी बनेको छ ।
बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा पछिल्लो एक सातादेखि निरन्तर रुपमा सुक्खा पहिरो खसेको कारण यात्रा जोखिमपूर्ण बनेको छ । यसअघि सुक्खा पहिरो नखस्ने यस क्षेत्रमा पछिल्ला केही दिनयता माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्न थालेको छ । यात्रुबाहक बससहित दैनिक आवतजावत गर्ने सवारीसाधनका चालक र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकाका सर्वसाधारणको आवतजावतको प्रमुख मार्ग रहेको यस सडकमा फापरखेत पहिरो वर्षौंदेखि समस्याका रूपमा रहँदै आएको छ ।
विगत २६ वर्षदेखि यात्रुलाई सास्ती दिँदै आएको फापरखेत पहिरोको समस्या अझै समाधान हुन सकेको छैन । दसैँअघि पहिरो खसेर अवरुद्ध भएको सडक दुई सातापछि सञ्चालनमा ल्याइएको थियो । सडक सञ्चालनमा आए पनि अहिले सुक्खा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेकाले सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

पहिरो नियन्त्रण, वैकल्पिक सडक निर्माण र पक्की पुल बनाउने विषयमा पटकपटक बहस तथा छलफल भए पनि ठोस समाधान निस्किन सकेको छैन । सरकारी निकायबाट समेत पटकपटक पहिरोको स्थलगत अवलोकन गरिएको छ । तर, समस्या समाधान नहुँदा मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

