रुपन्देहीको तिलोत्तमा नगरपालिका –६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजना अन्तर्गत एक करोड २६ लाख रुपियाँको लागतमा निर्माण गरिएको फाउन्टेन सञ्चालनमा आएसँगै नगरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ।
म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएसँगै कुञ्जपार्कको आकर्षण बढेको छ। फाउन्टेनको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरे । सात बिघा क्षेत्रफलमा फैलिएको कुञ्जपार्कको मुख्य आकर्षणका रूपमा म्युजिकल वाटर फाउन्टेनलाई घेरिएको छ।
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले फाउन्टेनको दृश्यलाई आकर्षक बनाएको छ । यसले स्थानीय बासिन्दासँगै रुपन्देही तथा आसपासका जिल्लाबाट आउने पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। उद्घाटनका क्रममा नगरप्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले नयाँ तथा सिर्जनात्मक कामको थालनी गर्दैआएको बताए ।
उनले लुम्बिनी र आसपासका क्षेत्र घुम्न आउने पर्यटकका लागि म्युजिकल वाटर फाउन्टेन नयाँ आकर्षण बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार कुञ्जपार्कसँगै तिलोत्तमाका अन्य पर्यटकीय स्थल बनबाटिका, बाउन्नकोटी र जमुहानी पार्कलाई जोडेर पर्यटकलाई विभिन्न गन्तव्यको भ्रमणका लागि प्रोत्साहित गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। यस्ता पूर्वाधारमा लगानी गरेर नगरको पर्यटन विकासको आधार विस्तार गर्न खोजिएको उनको भनाइ छ।
नगर उपप्रमुख चौधरीले पर्यटन पूर्वाधारमा लगानी बढाएर पर्यटकको आगमन वृद्धि गर्ने र त्यसबाट स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य नगरपालिकाले लिएको बताए । पर्यटन क्षेत्रको विकासले स्थानीय व्यवसाय तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ।
म्युजिकल वाटर फाउन्टेनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा निर्माण लागत करिब एक करोड ५० लाख रुपियाँ अनुमान गरिएको थियो। निर्माण व्यवसायीले एक करोड २६ लाख रुपियाँमा निर्माण सम्पन्न गरेको नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।
कुञ्जपार्कका अध्यक्ष लोक पुनका अनुसार विगतमा गौचरन र काँडे झाडी रहेको यस क्षेत्रलाई स्थानीय झरना स्पोर्टस् क्लबले विस २०६६ सालदेखि झाडी सफा गर्दै पार्कका रूपमा विकास गर्न थालेको हो। स्थानीयको पहलबाट विकासको सुरुवात भएको कुञ्जपार्क अहिले पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको उनले बताए ।
नगरपालिकाले अन्य पर्यटकीयस्थलसँग समन्वय गर्दै पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाउन सके तिलोत्तमा पर्यटकको बसाइ अवधि र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
