नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै नारायणी नदीमा सोमबार डुबेर दुई जना बेपत्ता भएका छन् । स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुब्न लागेपछि उनलाई बचाउन गैंडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए ।
सो क्रममा तीनै जना नदीमा डुबेका थिए । घटना लगत्तै चितवन राप्ती नगरपालिका –९ का ४१ वर्षीय चेकमान सिंह लामाले सबिनलाई सकुशल उद्धार गर्न सफल भएका थिए । वर्षा र प्रतीक हालसम्म पनि फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, मंगलबार गैंडाकोट नगरपालिका –२ स्थित नारायणी पुलबाट नाम, थर, वतन, उमेर नखुलेका पुरुष हाम फालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

खैरो कालो कलरको कपडाको पाइन्ट, सेतो कालो र हरियो मिक्स भएको हुडी, पिङ्क कलरको लेडिज साइकल र खैरो कालो चप्पल छाडी छैटौं पुलको खम्बा माथिबाट नारायणीमा हाम फालेर बेपत्ता भएको पण्डितले जानकारी दिए । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
