बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले त्यसको प्रभावस्वरूप नेपालमा बिहीबारदेखि वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा बिहीबार मेघगर्जन, चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकीका हिमाली र पहाडी एक/दुई स्थानमा भारी वर्षा, हिमपात तथा लुम्बिनीका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने अनुमान छ । ‘बुधबारदेखि नै बादल लाग्नेजस्ता मौसमी बदली देखिन्छ । हिमाली केही ठाउँमा हिमपात पनि हुने सम्भावना छ,’ विभागका मौसमविद् रोजन लामिछानेले भने, ‘बिहीबार यसको प्रभाव अझ बढ्छ । रातिदेखि शुक्रबार र शनिबार दिउँसोसम्म नेपालमा प्रणालीको प्रभाव बढी देखिनेछ । मुलुकको पश्चिमतर्फ भने यसको असर कम हुने अनुमान छ ।×’
बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने र थप शक्तिशाली बन्दै जाने सम्भावना छ । भारतको मौसम विज्ञान विभागले आन्ध्र प्रदेश र दक्षिणी ओडिसाको तटीय क्षेत्रका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ । विभागका अनुसार उक्त प्रणाली आइतबार बिहान ११ः३० बजे बंगालको खाडीको मध्यपूर्वी र दक्षिणपूर्वी क्षेत्र आसपास केन्द्रित थियो । सोमबार बिहानसम्म दक्षिणपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । त्यसपछि पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै मंगलबार बिहानसम्म बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली चक्रवाती आँधी बन्ने विभागको अनुमान छ ।
यो प्रणाली उत्तरपश्चिमतर्फ अघि बढ्दै थप शक्तिशाली हुने र बुधबार बिहानसम्म अति शक्तिशाली चक्रवाती आँधीका रूपमा आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्नेछ । त्यो दिन मध्याह्नसम्म यो आँधी बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्छ ।त्यसबेला हावाको अधिकतम गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र झोक्कासहित प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने विभागको आकलन छ ।
जमिनी सतहमा चक्रवाती आँधी प्रवेश गरे पनि त्यसको प्रभाव नेपालमा मध्यमदेखि भारी वर्षासम्म देखिने मौसमविद्हरूले बताएका छन् । ‘नेपालका पहाडी र हिमाली भूभागले गर्दा बादललाई पानी पार्नमा सहयोग पुर्याउँछन्,’ मौसमविद् विनोद पोखरेलले भने, ‘बिहीबार रातिदेखि शुक्रबार रातिसम्म बढी जोखिम छ ।’ विभिन्न मौसमी मोडेलले वर्षाको सम्भावना एकै खालको देखाएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विश्लेषणअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा भारी वर्षा हुने र २९ जिल्ला जोखिममा पर्न सक्ने देखिन्छ ।
बंगालको खाडीबाट उत्पन्न मौसमी प्रणालीले मुख्यतः तीन क्षेत्रमा प्रत्यक्ष पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बताउँछन् । ‘कृषि, पदयात्रा र सडक यातायात मुख्य रूपमा प्रभावित हुन सक्छन्,’ कान्तिपुरसँग उनले भने, ‘पाकेको धानबाली भारी वर्षाले ढल्न सक्छ । उच्च हिमाली क्षेत्रमा जाने पदयात्री र पर्यटक प्रभावित हुन सक्छन् । भरखर मनसुन सकिएकाले जमिन गलेको छ, भारी वर्षाले बाढीपहिरो आउन सक्ने र त्यसको असर सडक यातायातमा देखिने हुन्छ ।’
कार्यकारी प्रमुख उप्रेतीले विशेषगरी किसान र ट्राभल एजेन्सीका लागि सोमबार एडभाइजरी जारी गर्ने तयारी भइरहेको बताए । ‘बिहीबारदेखि शनिबारसम्म धान नकाट्न र काटेको भए भित्र्याउन भन्छौं । ट्राभल एजेन्सीहरूलाई उच्च हिमाली क्षेत्रमा अहिले पदयात्री पर्यटकलाई नपठाउन र टिकट काटेको भए पछाडि सार्न अनुरोध गर्छौं,’ उनले भने, ‘सडक यातायात नै रोक्नुपर्ने भयो भने अवस्था हेरेर त्यही बेला निर्णय लिनुपर्ने पनि हुन्छ ।’ नेपालबाट २८ असोजमा मनसुन पूर्ण रूपमा बाहिरिएको थियो ।
